कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
1089

मोडन एरा टुर्स एन्ड ट्राभल्सले पोखरादेखि भारतको देहरादुनसम्म सीधा बस सेवा सञ्चालनमा गर्ने भएको छ । विगत १२ वर्षदेखि पोखरादेखि भारतको नयाँ दिल्लीसम्म सीधा बस सेवा सञ्चालन गर्दै आएको उक्त ट्राभल्सले देहरादुनमा नेपालीहरूको बसोवास भएकाले उनीहरूको सेवा सहित पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने गरी भारतको देहरादुनमा हप्ताको बुधबार सीधा बस सेवा सञ्चालन गर्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । मोडन एरा टुर्स एन्ड ट्राभल्स पृथ्वीराजमार्ग बस सञ्चालक समितिमा आबद्ध भएकाले समितिको विशेष पहलमा उक्त सीधा बस सेवा आउँदो जेठ महिनाको पहिलो साता अर्थात बुधबारदेखि सुरु हुने भएको समितिका अध्यक्ष ऐनकुमार शाईले बताए । देहरादुनमा करिब २५ प्रतिशतजसो नेपालीहरू बसोबास गर्ने भएकोले उनीहरू नेपाल आउन सहज पार्नको लागि पनि आफूहरूले स्तरीय सीधा बस सेवा सञ्चालनमा ल्याउन लागेको अध्यक्ष शाईले बताए । एसिसहितको सुविधा भएको ३५ सिटे एउटा बसबाट हाल सेवा सञ्चालन गर्ने भएको उनले जनाए । समितिका महासचिव योगेन्द्र केसीले समितिमा हाल १ हजार ३ सय ७८ वटा बसहरू रहेको जनाउँदै समितिद्वारा सञ्चालित अधिकांश गाडीहरू पूर्वको मेचीदेखि पश्चिमको महाकाली, उत्तरको हिमालदेखि दक्षिणको तराईसम्म सेवा प्रदान गर्दै आएको बताए । पोखरा दिल्ली बस सेवालाई विस्तार गर्ने क्रममा हाल दिल्ली पोखरा चल्ने बस सेवालाई नै पोखरा देहरादुनमा पोखराबाट देहरादुत बुधबार र देहरादुनबाट पोखरा शनिबार सञ्चालन हुने भएको महासचिव केसीले बताए । पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्वार, ऋषिकेश हुँदै देशरादुनसम्मको यात्रा गर्दा प्रतियात्रुले भारु २ हजार ७ सय रुपैयाँ अर्थात नेपाली ४ हजार ३ सय २० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । धार्मिक पर्यटनको माध्यमबाट हरिद्वार, ऋषिकेश र नेपालको मुक्तिनाथसम्मको धार्मिक पर्यटन प्रबद्र्धन गरी शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत सीधा बस सेवाले धेरैलाई सहज भएको मोडन टुर्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । पोखरा दिल्लीमा नेपाल भारतमैत्री बस सेवासहित आफूहरूले दैनिक बिहान र बेलुका गरी दुई क्युमा सीधा बस सेवा सञ्चालन गर्दै आएको उनले बताए । पर्यटनको दृष्टिले स्वास्थ्य, शिक्षा र व्यवसायीका हिसावले पनि पोखरादेखि भारतका मुख्य सहर जोड्न खोजेको अध्यक्ष अधिकारीले बताए । ३ वटा बसबाट सेवा सुरु गरेको मोडन इराले हाल २२ वटा गाडीहरूबाट सेवा दिँदै आएको छ । उक्त टुर्सले पोखरा काठमाडौं, पोखरा सौराहलगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय स्तरका सुविधासम्पन्न सीधा बस सेवा सञ्चालनमा ल्याएको छ । उद्घाटनको अवसरमा भने कम्पनीले १० प्रतिशत भाडामा छुट दिने भएको छ ।