कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
197

सुदूरपश्चिम प्रदेश सरकारले सरकारी क्षेत्रबाट बस सेवा सञ्चालनको तयारी गरिरहेको छ । प्रदेशको भौतिक विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराउन थालेको हो । निर्देशनालयले ग्रिड कन्सल्ट प्रालिलाई प्रदेशमा सरकारी क्षेत्रबाट बस सेवा सञ्चालन गर्ने सम्बन्धीमा अध्ययन गर्न खटाएको छ ।
ग्रिडले विगत एक महिनादेखि सुदूरपश्चिम क्षेत्रमा बस सेवाको सम्भाव्यता अध्ययन गरिरहेको छ । ग्रिडका टिम लिडर डा. प्रदीपकुमार श्रेष्ठले सुदूरपश्चिमका सडक यातायातको अवस्था, सडकको अवस्था, यात्रुको आवश्यकता तथा चाहना, लागत, व्यावसायिक स्थितिको अध्ययन गरिरहेको बताए । उनले सम्पूर्ण अध्ययनपछि सरकारी क्षेत्रबाट बस सेवा सञ्चालनको उपयुक्त मोडालिटी सहितको प्रतिवेदन एक महिनाभित्रै निर्देशनालयमा प्रस्तुत गरिने बताए । उनले प्रारम्भमा सडकको अवस्था, बसपार्क, बस बिसौनी, यात्रुहरूको आवश्यकता अध्ययन गरिसकेको र सरोकारवालाहरूको सुझाव संकलन गरेको बताए ।

निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले सम्भाव्यता अध्ययन भइरहेकाले अहिले नै कुन मोडलबाट प्रदेशको बस सेवा सञ्चालन गर्ने निश्चित नभएको बताए । उनले प्रतिवेदन आएपछि बस सेवा सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने बताए । उनले ग्रिडसँग सो अध्ययनका लागि १० लाख रुपैयाँको सम्झौता भएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको आर्थिक वर्ष ०७५÷७६ को कार्यक्रममा सम्भाव्यता अध्ययन गरी प्रदेशका नौवटै जिल्लामा बस सेवा सञ्चालनका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्षको अन्त्यमा सो अध्ययन भइरहेकाले सो कार्यक्रमको १९ करोड ९० लाख रुपैयाँ फ्रिज जाने लगभग निश्चित भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बस सेवा सञ्चालन गरी नाफा कमाउने उद्देश्य नराखी नागरिकलाई सेवा दिन खोजेको बताए । उनले हतारमा बस किनेर स्रोत खेर फल्नुभन्दा विस्तृत रूपमा अध्ययन गरी सम्पूर्ण तयारीका साथ बस सेवा सञ्चालन गर्न निर्देशनालयलाई सुझाव दिएका छन् । उनले प्रदेश सरकारको छुट्टै इकाई गठन गरी, स्थानीय तहहरूसँग साझेदारी गरी, निजी क्षेत्र वा सहकारीहरूसँग साझेदारी गरी बस सेवा सञ्चालन गर्न सकिने विकल्प दिएका छन् । “यीमध्ये जुन मोडल सबैभन्दा बढी उपयुक्त हुन्छ, अथवा अरू मोडल पनि हुनसक्छ,” मुख्यमन्त्री भट्टले सुझाव दिए, “उपयुक्त मोडल छानेर प्रदेशका सबै नागरिकहरूलाई सर्वसुलभ सेवा पुग्ने गरी कार्यक्रम अगाडि बढाउन सकिन्छ ।”
उनले समय सकिँदै छ भनेर हतार नगरी कार्यक्रम अगाडि बढाउन समेत सुझाव दिएका छन् । “बस किनेर सडकमा विना यात्रु गुडाउन भन्दा परिणाममुखी काम गर्न आवश्यक छ,” उनले भने, “बजेट कार्यान्वयन भएन भन्ने प्रश्न स्वाभाविक रूपमा आउँछ तर परिणाममा नआउने गरी बजेट खर्च गर्नुको अर्थ छैन ।”
भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेशको यातायात सेवा सञ्चालन गरी जनतालाई सेवा पुरयाउने उद्देश्य रहेकाले कुन रुटमा कस्तो खालको सब सेवा दिने भन्ने अध्ययन प्रतिवेदन आवश्यक रहेको बताए । उनले बस सेवा सञ्चालनका लागि प्रदेशमा आफ्नो मन्त्रालयले व्यापक रूपमा सडकहरूको स्तरोन्नति गरिरहेको बताए । उनले यस वर्ष करिब ३ सय सडकको स्तरोन्नति गरिएको जनाए ।


सातामा धेरै पढिएको