कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
206

विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामका लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बन्डलिङ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
एनसेलले आज (मंगलबार) देखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यसअन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र १ सय १० रुपैयाँ (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरूबाट फाइदा लिन सक्ने पनि बताएको छ ।
स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनका लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वकभित्र कुरा गर्न प्रयोग गर्न सकिने बतायो । ‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरूले आफ्नो आवश्यकताअनुसार ४ सय ९० देखि १ हजार ९ सय ६० रुपैयाँसम्मका विभिन्न समय सीमा रहेका भ्वाइस तथा डेटा बन्डलिङ गरिएको कम्बो प्याकहरू खरिद गर्न सक्नेछन् । यो योजनाअन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभी र सुपर गरी चारवटा विकल्प छन् ।