कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
222

अन्नपूर्ण आधारशिविरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आउँदो जेठ १७ गतेदेखि कास्कीको अन्नपूर्ण गााउँपालिकाअन्तर्गत घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ १७ देखि २० गतेसम्म पर्यटन प्रबद्र्धन हुने उद्देश्यले घान्द्रुकमा उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवको तयारी तीव्र पारिएको महोत्सवका संयोजक ललित गुरुङले बताए । घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा हुने उक्त महोत्सवको अवसरमा पर्यटकहरूलाई विशेष प्याकेज दिने भएको उनले बताए । महोत्सवमा हर्स राइडिङ गरी घान्द्रुक गाउँ घुम्न सकिने, गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने, परम्परागत गुरुङ संस्कार संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिने, हिमाली तथा लेकाली जडिबुटीहरूको परिचय र त्यसको उपभोगितासम्बन्धी जानकारीमूलक विवरण दिने, फोटो प्रदर्शनलगायतका विभिन्न प्रतियोगिताहरू हुने भएको छ ।
अन्य दिनमा एक रातको होटल आवासमा करिब १ हजार २ सय रुपैयाँ पर्ने प्याकेज महोत्सवको अवसरमा खेलाडीलाई ७ सय र अन्य पर्यटकहरूलाई भने ९ सय रुपैयाँ हुने भएको संयोजक गुरुङले बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब १ करोड खर्च लाग्ने भएको संयोजक गुरुङले बताए । उक्त महोत्सव सम्पन्न गर्न ५ सय १ सदस्य मूल आयोजक समिति गठन भएको छ भने ३१ वटा उपसमिति छन् । गएको वर्ष पहिलो पटक तीन चरणमा महोत्सव गरिएको थियो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा अन्नपूर्ण म्याराथन रहेको छ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास र यस क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्यले महोत्सवको अवसरमा म्याराथन हुने भएको समितिका महासचिव दिलिप गुरुङले बताए । म्याराथन प्रतियोसिगतामा स्वदेशी तथा विदेशीले सहभागि हुन पाउने छन् । प्रतियोसिगतामा प्रथम हुनेलाई १ लाख पाँच हजार, दोश्रोलाई ७५ हजार र तृतियलाई ५५ हजार सामथा मेढल सहित प्रमाणपत्र रहेको छ ।