मनोरञ्जन शर्मा
बुधवार, जेठ १, २०७६
628

मुलुककै पहिलो विशेष आर्थिक क्षेत्रमा स्थापित पहिलो उद्योगले उत्पादन सुरु गरेको छ । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा पहिलो उद्योगका रूपमा स्थापना भएको शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको हो । यो उद्योगले भैरहवा सेजमा गत असारमा उद्योग स्थापनाको काम सुरु गरेको थियो । तोकिएको समयभित्रै उत्पादन सुरु भएको र हाल परीक्षणको रूपमा उत्पादन भइरहेको र छिटै सेज ऐनमा तोकिएअनुसार निर्यात गर्ने कम्पनीका सञ्चालक एवं अध्यक्ष विनोदकुमार श्रेष्ठले जानकारी दिए ।
“अहिले परीक्षण उत्पादन भइरहेको छ, अब उत्पत्तिको प्रमाणपत्र प्राप्ती र अन्य प्रशासनिक प्रक्रिया छिटै सम्पन्न गरेर असारभित्रै हाम्रा उत्पादन भारत निर्यात गर्नेछौं,” अध्यक्ष श्रेष्ठले भने, “यो उद्योग खनिज उत्खनन तथा अन्वेषणमा आधारित उद्योग हो र यसले खनिज पदार्थ (चुनढुंगा, डोलामाइट प्रशोधन गरी पाउडर र फ्ल्क्स(टुक्रा) उत्पादन गर्छ ।”

उद्योगबाट उत्पादित माइलस्टोन र डोलामाइट पाउडर र फ्ल्क्सका टुक्रा गरी वार्षिक १ अर्ब रुपैयाँ बराबरका उत्पादन भारत निर्यात गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए । यस्तै उद्योगका कारण वार्षिक २० करोड बराबरको आयात प्रतिस्थापन हुने पनि उनले जानकारी दिए । भारतमा लाइमस्टोन र डोलामाइटको पाउडर तथा फ्ल्क्सहरू फलाम बनाउन (छड, स्टिल बनाउने प्राइम ब्लेड)का रूपमा प्रयोग हुन्छ । भारतले पनि टर्की, इरान, मलेसियालगायतका मुलुकबाट यस्ता समान आयात गर्छ । छिमेकी देशमा उत्पादित बस्तु भारतीय उद्योगलाई सस्तो र दूरीको हिसाबले नजिक पनि पर्ने भएकाले बजार राम्रो हुने अपेक्षा रहेको श्रेष्ठले बताए ।
४० करोडको लगानी रहेको यो उद्योगको दैनिक क्षमता १५ सय टन प्रशोधन गर्ने रहेको उद्योगका निर्देशक दीपकुमार झाले जानकारी दिए ।
प्लास्टिक बोरा, प्लास्टिक उद्योग, कुखुराको चल्लाको दाना, पेन्ट लगायतका उद्योगमा लाइमस्टोन र डोलामाइटको पाउडर प्रयोग हुन्छ । नेपालमा यो सामान उत्पादन गर्दा अहिलेसम्म भारतबाटै लाइमस्टोन र डोलामाइट पाउडर प्रयोग हुने गरेकोमा अब स्वदेशमै उत्पादन हुँदा वार्षिक कम्तिमा पनि २० करोड रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्नसकिने निर्देशक झाले बताए । उद्योगको उत्पादनमध्ये ६० प्रतिशत भारत अथवा तेश्रो मुलुकमा निर्यात गर्नुपर्नेछ भने ४० प्रतिशत स्वदेशमै बिक्री गर्न पाउनेछन् । उद्योगबाट प्रतक्ष रूपमा १३० जनाले रोजगारी पाएका छन् । उद्योग पूर्णतः कम्प्युटरकृत छ । उद्योगको मुख्य कच्चा पदार्थ चुन ढुंगाको खानी भने पाल्पा जिल्लामा छ ।
उद्योगबाट उत्पादित पाउडर र फ्ल्क्सलाई बोरामा राखेर बिक्रीका लागि बजारमा पठाइने र गुणस्तर परीक्षणका लागि उच्च प्रविधिको प्रयोगशाला रहेको र प्रशोधनपछिमात्रै उत्पादन हुने भएकाले गुणस्तर विश्वस्तरको हुने सञ्चालकको दाबी छ । भारत र नेपालबीचको द्विपक्षीय सम्झौताअनुसार कुन कुन सामान आयात निर्यात गर्न पाइने भन्ने विषयमा भएको सहमतिमा उल्लेख भएअनुसार नै उत्पादन भएकाले सहज रूपमा भारत भित्रने सञ्चालकहरूको अपेक्षा छ ।
भैरहवा सेजमा उद्योग स्थापनाका लागि निवेदन दिएकामध्ये अन्य १० वटाले उद्योग स्थापनाका लागि आवश्यक काम सुरु गरिीसकेको र बाँकी ९ वटा उद्योग पनि नक्साकंनलगायत प्रशासनिक काममा रहेको सेज प्राधिकरणका निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । अन्य १० उद्योगका लागि साउनसम्मको म्याद दिइएको छ ।
भैरहवा सेजमा स्थापित पहिलो उद्योगको शुभारम्भ उद्योगमन्त्री मातृका यादवले गरेका छन् । मंगलबार भैरहवा सेजमा उनले उद्योग शुभारम्भ गर्दै सेजमा स्थापित उद्योगहरूका कारण हालको व्यापारघाटा नियन्त्रणमा आउने बताए ।