कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
425

दोलखा उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिले ४ वर्ष अघि भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । संघको २२ औं वार्षिक साधारणसभाबाट निर्वाचित भएको भोलिपल्टै शपथग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले ६ महिनाभित्र भवन पुनर्निर्माण गरेर सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने घोषणा गरे ।
शनिबार सम्पन्न निर्वाचनको आइतबार मतपरिणाम घोषणा गरिएको थियो । नवनिर्वाचित संघका अध्यक्ष र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सरोज उप्रेतीले शपथ गराए । नवनिर्वाचित अध्यक्षसहित सदस्यहरुमा दिनेश बस्नेत, दिनेश थापा, सनत थापा, अनिता श्रेष्ठ, बलराम थापा, श्याम कृष्ण कायस्थ, गणेश विक्रम शाही ठकुरी, देव कृष्ण थापा, हेमराज रिमाल, सुरेश उप्रेती, विमल श्रेष्ठ, हिमाल न्यौपाने, दिनेश पाठक, नवराज रिजाल र एसोसियट सदस्य कृष्णबहादुर श्रेष्ठ छन् ।

लोकतान्त्रिक र प्रगतिशील प्यालन बनाएर निर्वाचनमा सहभागी उम्मेद्वारहरुमध्ये लोकतान्त्रिक समूहको अध्यक्षसहित १० जना निर्वाचित भएका छन् । त्यस्तै प्रगतिशील समूहबाट ६ जना सदस्य निर्वाचित भए । लोकतान्त्रिक समूहलाई नेपाली कांग्रेस र प्रगतिशील समूहलाई सत्ताधारी दल नेकपाले सहयोग गरेको थियो ।
अध्यक्ष श्रेष्ठले ३ वर्षदेखि गतिहिन रहेको संघलाई अब समस्या पत्ता लगाएर समाधान गर्दै गतिशिल बनाउने बताए । संघको खातामा रकम पनि नभएकाले भवन पुनर्निर्माण र अन्य कार्यक्रमका लागि सदस्यहरु र शुभेच्छुकहरुबाट सहयोग लिएर काम गर्ने बताए । शपथ ग्रहण कार्यक्रममा नै भवन पुनर्निर्माण र सदस्यहरुको हितमा अक्ष्यकोष स्थापनाका लागि सहयोगको प्रतिबद्धता सुरु भएको छ ।
भवन पुनर्निर्माणका लागि पूर्वअध्यक्ष रामेश्वर मानन्धरले २५ हजार १ रुपैयाँ र पूर्वमहासचिव पृथ्वीबहादुर श्रेष्ठले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता गरे । त्यसैगरी सदस्य हितकोषका लागि समेत दुवै जनाले सोही बराबरको रकम जम्मा गर्ने घोषणा गरेका छन् ।