कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
372

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशको ग्रामीण समुदायमा सकारात्मक परिवर्तन ल्याउने खालका विकासका क्रियाकलापमा सहभागी हुने उद्देश्यले आफ्ना सेयरधनीहरूको सहभागितामा ग्रान्डी संस्थागत सामाजिक उत्तरदायित्व नामको समिति गठन गरेर सामाजिक कार्य गर्दै आएको ग्रान्डी होल्डिंस् प्रालिले अबदेखि सामाजिक कार्य गर्न आफ्नो अग्रसरतामा ग्रान्डी सोसियल फाउन्डेसन नामको मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना गरेको छ ।
एउटै समूहका व्यावसायिक संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्य गर्न छुट्ट्याएको रकम विभिन्न क्षेत्रमा छरेर छुट्टाछुट्टै कार्य गर्नुभन्दा सबै एसोसिएट कम्पनी आपसमा मिलेर कुनै एउटा क्षेत्र पहिचान गरी त्यस क्षेत्रको आवश्यकता आँकलन गरेर सोही क्षेत्रमा केन्द्रित भएर निरन्तर कार्य गरेमा ठोस परिणाम आउने देखिन्छ ।

यस फाउन्डेसनमा ग्राण्डी होल्डिंस् प्रालि, यसका सेयर धनी र ग्राण्डी होल्डिंस्का भगिनी संस्थाहरूको संलग्नता हुने भन्दै संस्थाको कार्यकारी समितिको अध्यक्ष विजय गोपाल राजभण्डारी रहेको तथा वीरेन्द्र श्रेष्ठ, शरद शर्मा, अच्यूत हरि अर्याल, राजेन कुमार शर्मा, राजेन्द्र शाक्य, लक्ष्मण रत्न तुलाधर र नरेन्द्रप्रसाद श्रेष्ठ सदस्य र विजयबहादुर राजभण्डारी सल्लाहकार रहेको जनाएको छ ।
फाउन्डेसनमा सार्वजनिक÷निजी क्षेत्र, संयुक्त राष्ट्रसंघीय नियोग र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लामो समय कार्य गरेर व्यवसाय र विकासमा ज्ञान र अनुभव हासिल गरेका व्यक्तिहरूलाई एकै ठाउँमा राखी यस फाउन्डेसनले आफूले गर्ने कार्यको ढाँचा तयार गरेर परिणाममुखी कार्य गर्दै आएको पनि जनाएको छ ।