कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६
401

चौधरी फाउन्डेसनले नेपालमा पहिलो पटक डुइङ गुड इन्डेक्स (डीजीआई २०२०) सर्वेक्षण सञ्चालन गर्ने भएको छ । फाउन्डेसनले मंगलबार यसका लागि विज्ञहरूसँग बृहत् अन्तक्र्रिया गरेको छ । सामाजिक एवं सार्वजनिक क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सर्वेक्षणका विविध आयामहरूमा छलफल गरिएको छ ।
डुइङ गुड इन्डेक्सको प्रकासन हङकङस्थित संस्था ‘सेन्टर फर एसियन फिलान्थ्रोपी एन्ड सोसाइटी (क्याप्स)’ द्वारा गरिँदै आएको छ । चौधरी फाउन्डेसन र क्याप्सबीच सन् २०१८ नोभेम्बरमा नेपालमा डुइङ गुड इन्डेक्स सर्वेक्षण गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यस सर्वेक्षणको प्रमुख उद्देश्य एसियाली राष्ट्रहरूमा लोकोपकारी क्षेत्रमा लगानीको मात्रा एवं गुणस्तरमा वृद्धि गर्नु छ । जसअन्तर्गत यस क्षेत्रको नियमनकारी व्यवस्था, कर प्रणाली, खरिद प्रक्रिया एवं सामाजिक वातावरण आदि जस्ता क्षेत्रको जानकारी हासिल गर्दै सामाजिक क्षेत्रमा लगानी प्रदान वा प्राप्त गर्नेसम्बन्धी प्रावधानको बारेमा अध्ययन गरिनेछ ।
यस सर्वेक्षणले सामाजिक क्षेत्रमा काम गर्ने संघ–संस्थाहरूका लागि सामाजिक क्षेत्रमा लगानी जुटाउन कठिनाइ, योग्य जनशक्तिको अभाव, कर्मचारीतन्त्रमा व्याप्त रेड टेपिज्म आदि जस्ता विविध चुनौतीहरूको समाधानका उपायको पहिचान गर्नमा मद्दत पु¥याउनेछ । त्यसैगरी सर्वेक्षणले सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूलाई कानुनी रूपमा संस्थादर्ता गर्न, लगानी वृद्धि गर्न, कर सहुलियत एवं सार्वजनिक करार प्राप्त गर्ने आदि जस्ता कार्यमा पनि टेवापुग्ने विश्वास फाउन्डेसनले लिएको छ ।
कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले डुइङ गुड इन्डेक्सले सामाजिक क्षेत्रमा विश्वासको वातावरण, परोपकारी भावनाको विकास एवं यस क्षेत्रको व्यवसायीकतालाई बढावा दिने जस्ता सकारात्मक नतिजा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । चौधरी फाउन्डेसन भूकम्प पीडितका लागि ट्रान्जिसनल सेल्टर निर्माणदेखि नेपालको राष्ट्रिय विकासमा महत्वपूर्ण सावित हुने डुइङ गुड इन्डेक्स सर्वेक्षणसम्मका सहभागी हुन पाएकोमा उनले प्रसन्नता व्यक्त गरे ।
योजना आयोगका पूर्वउपध्यक्ष स्वर्णीम वाग्लेले आजको दुनियाँमा आर्थिक वृद्धिदरसँगसँगै ह्यापिनेस पनि उत्तिकै महत्वपूर्ण रहेको विश्लेषण गर्नु हुँदै डुइङ गुड इन्डेक्सले नेपाली समाजको अध्ययनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । सर्वेक्षणको नतिजा सन् २०२० मा प्रकाशित गर्ने लक्ष्य छ । यसले नेपालको विकास प्रक्रियामा लिनुपर्ने थप रणनीतिका बारेमा मार्गदर्शन गर्ने विश्वास पनि लिइएको छ ।