गोपाल पोखरेल
बिहिवार, बैशाख १२, २०७६
342

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित विसनपुरमा बृहत् त्रियुगा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । सौर्य ऊर्जा, कृषि अनुसन्धान केन्द्र, आधुनिक प्रशोधनसहितको फोहोर मैला व्यवस्थापन र साना तथा लद्युउद्यम विकासका लागि औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । विसनपुरका स्थानीयले वर्षौंदेखि संरक्षण गरेर राखेको गौचरण र सरकारी गरी करिब ७० बिघा क्षेत्रफल रहेको जमिनमा सौर्य ऊर्जा, कृषि अनुसन्धान केन्द्र, आधुनिक प्रशोधनसहितको फोहोर मैला व्यवस्थापन र साना तथा लद्युउद्यम ग्राम निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाले जनाएको छ । नगरपालिकाले त्रियुगा सभ्यता र विकास अभियान अन्तर्गत त्रियुगा कोरिडोर समेत निर्माण गर्न लागेको छ । यसका लागि त्रियुगा नदी नियन्त्रणमा मात्रै ६ अर्ब ८४ करोड रुपैयाँको डीपीआर तयार गरी काम प्रारम्भ गरिएको नगर प्रमुख बलदेव चौधरी बताउँछन् ।
चौधरीले औद्योगिक ग्राममा अस्पताल, विद्यालय, खेल मैदान र खानेपानी सहितको संरचना निर्माण गरिने बताए । उनले गाईघाट बजार तथा तरकारी बजारबाट उत्पादित फोहोरलाई आधुनिक तरिकाले प्रशोधन गरेर मल तथा अन्य उपयोगी वस्तुहरू उत्पादन गर्ने योजना नगरपालिकाको रहेको जानकारी दिए ।

“स्थानीयले रोजगारी प्राप्त गरुन र अन्य कुरामा पनि उनीहरूको स्वामित्व रहोस भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “बजार क्षेत्रबाट नजिकै रहेको विसनपुरका स्थानीयले लामो समयदेखि जमिन संरक्षण गरेर राखेकाले औद्योगिक ग्राम निर्माण गर्ने योजना सफल हुन लागको हो ।” चालू आर्थिक वर्षका लागि करिब १ करोड रुपैयाँ बिनियोजन भएको र सो रकमले निर्माण कार्य सुरु गरिएको उनको भनाइ छ ।नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीका अनुसार त्रियुगा नदिसँग यहाँको संस्कृति र सभ्यता जोडिएकाले यसको समेत संरक्षण गर्न लागिएको हो । “यस्तो पहिचान बोकेको त्रियुगालाई स्वच्छ, सफा, हराभरा बनाउने अभियानमा नगरपालिका लागि परेको हो,” उनी भन्छिन्, “त्रियुगाको नाम त्यतिकै रहन गएको होइन यसको छुट्टै सभ्यता छ र आज त्रियुगा नदिसँग हाम्रो जीवन जोडिएको छ ।”
औद्योगिक ग्राममा विसनपुरवासीलाई अवसरहरूको पहिलो प्राथमिकता राखेर रोजगारी दिइने उनले बताइन् ।
विकासको अभियान सञ्चालन गर्दा स्थानीयवासीसँग सहकार्य र समन्वय गरेर काम गर्ने योजना नगरपालिकाको रहेको निमित्त प्रशासकीय अधिकृत एकबहादुर राउत बताउँछन् । विकासमा स्थानीयको साथ र सहभागिता रहेमात्रै त्यो विकास दीगो र फलदायी हुने उनको भनाइ छ ।
स्थानीय बासिन्दा भने औद्योगिक ग्राम निर्माण गर्दा कोही पनि स्थानीय विस्थापित हुन नहुने बताउँछन् । “हामीले संरक्षण गरेर राखेको जमिनमा औद्योगिक ग्राम बनोस्” स्थानीय नागेन्द्रकुमार चौधरीले भने, “तर त्यसकै कारण यहाँबाट कोही विस्थापित हुन नपरोस् र गाउँमा दुर्गन्ध नहोस् ।” स्थानीयले नगरप्रमुख चौधरीसँग औद्योगिक ग्राम निर्माणका क्रममा स्थानीयलाई पहिलो प्राथमिकतामा राख्न र सोहीअनुसार रोजगारीको व्यवस्था मिलाउन माग गरेको उनले बताए ।
नगर प्रमुख चौधरीले औद्योगिक ग्रामको नाममा विसनपुरको कोही पनि बिस्थापित हुन नपर्ने र हरेक घरलाई रोजगारीको ग्यारेन्टी गर्ने गरी दुई पक्षीय सम्झौता गर्न लागिएको जानकारी दिए । औद्योगिक ग्राम निर्माणसँगै त्रियुगा नदीको दुवै किरानामा बाँध निर्माण गरी बाँध माथि हरियाली व्यवस्थापन गरिने उनले बताए । औद्योगिक ग्राम निर्माणस्थल नजिकैको त्रिवेणीमा त्रियुगा माताको मन्दिर निर्माण गरी धार्मिक पर्यटनको समेत विकास गरिने चौधरीले बताए ।