कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६
317

ओखलढुंगामा सञ्चालित प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव १५ करोडको कारोबार गर्दै सकिएको भएको छ । गत चैत ३० गतेदेखि सुरु भएको महोत्सव वैशाख १० गते समापन भएको हो ।
स्थानीय व्यवसाय, उत्पादन, कला, संस्कृति, पर्यटनलगायतको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सव भव्यताका साथ सफल भएको दाबी आयोजक संस्था ओखलढुंगा उद्योग वाणिज्य संघले गरेको छ ।

जिल्लामै पहिलोपटक भएको महोत्सवमा औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापार मेला, विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांगीतिक कार्यक्रम, प्याराग्लाइडिङ, स्वास्थ्य शिविरलगायतका आकर्षण थिए । महोत्सव अवधिभर स्थानीय उत्पादन र घरेलु हस्तकलाका सामग्रीहरूमा उपभोक्ताको भीड लागेको थियो । ११ दिन चलेको महोत्सवमा डेढ लाखले अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ । महोत्सव अवधिभर १५ करोड कारोबार भएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
महोत्सवको समापन ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले गरेका हुन् । ओखलढुंगाको इतिहासमै लामो समयसम्म महोत्सव चलेर समापन भएकोमा उनले खुसी व्यक्त गरे ।
समापन कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, गैर सरकारी संघ–संस्थाका प्रतिनिधिहरू, उद्यमी, व्यवसायीलगायतको उपस्थिति थियो । समापनको अवसरमा आयोजक संस्था ओखलढुंगा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडालाई उद्योग तथा वाणिज्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको थियो ।