कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
343

 

 समयमै खेल पूर्वाधार निर्माण नहुँदा आर्थिक भार 

नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी नेपालगन्ज रंगशालामा विभिन्न खेलकुदका भौतिक संरचनाको निर्माण कार्य सुस्त गतिमा हुँदा रंगशालामा हुने पौडी प्रतियोगिता नेपालगन्जको एक चारतारे होटलमा भएको छ । नेपालगन्ज रंगशालामा करिब १५ करोडको लागतमा पौडी पोखरीको निर्माण कार्य अघि बढाए पनि प्रतियोगिताको समय सीमाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्न नसक्दा खेलाडीहरूलाई सास्ती भोग्नु परेको छ । ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा निर्माण हुँदै गरेको उक्त पौडी पोखरी समयमै निर्माण नहुँदा खेलाडीहरूले नेपालगन्जको चारतारे होटल सिग्नेटको २५ मिटर लम्बाइको पौडी पोखरीमा प्रतिस्पर्धा गरेका हुन् । यसरी खेलाडीहरूले २५ मिटरको दूरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दा राउन्ड लगाउनु पर्ने भएकाले राष्ट्रिय रेकर्ड तोड्न अलि कठिन हुने गण्डकी प्रदेशका प्रशिक्षक एवं कास्की जिल्ला पौडी संघका सचिव आनन्द कुँवरले बताए । सार्वजनिक रूपमा रंगशालामा हुने पौडी प्रतियोगिता कुनै होटलमा हुँदा स्वाभाविक रूपमा आर्थिक भारसमेत पर्ने भएको उनले बताए । नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले दूरदर्शिताका कारण हचुवाको भरमा राष्ट्रिय खेलकुद आयोजना गर्दा धेरै कमीकमजोरी रहेको टिप्पणी गरे । उनले भने, “राष्ट्रिय खेलकुद प्रतियोगिता दुइ÷दुई वर्षमा निरन्तर हुँदै आएकोमा हाम्रा लागि खुसीको कुरा हो, खेल पूर्वाधारको हिसाबले जुन रूपमा समयमै निर्माण गर्नु पथ्र्याे त्यो हुन् सकेन, भीआईपी प्यारापिटसमेत उद्घाटन सत्रमा पूर्ण रूपमा सञ्चालनमा आउन सकेन, पौडी पोखरीमा भएको लगानी अब कतै बालुवामा पानी हाले र हुन्छ कि भन्ने हामीलाई बढो चिन्ता लागेको छ ।” कागजी रूपमा विभिन्न जिम्मेवार पदमा रहेकाहरूले आफ्नो जिम्मेवारी भुलेर भीआईपीका अघिपछि लाग्नाले प्रतियोगिताको दौरानमा धेरै समस्या आएको अध्यक्ष गुरुङको आरोप छ । उनले भने, “जुन प्रयोजनाका लागि भनेर निर्माण भएको उक्त काम गर्नको लागि तारे होटलको पौडी पोखरी खोज्नुपर्ने कस्तो व्यवस्थापन हो, यातायात व्यवस्थापनको गैरजिम्मेवार पनले खेलाडीहरूले सास्ती भोग्नु परेको छ ।” विभिन्न उपसमितिहरू मध्य स्वास्थ्य क्षेत्र राम्रो भएको बताएका गुरुङले यातायात व्यवस्थापन अस्तव्यस्त भएको दाबी गरे । नेपालगन्ज रंगशालामा छोटो समयमा पौडी पोखरी तयार पार्नुपर्ने भएकाले पनि उक्त पोखरीमा पानीको जोहो गर्न नसकेर आफूहरूले पौडी प्रतियोगिता होटलमा गर्नु परेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । एक दिनमा १६ लाख लिटर पानीको व्यवस्थापन गर्न नेपाल खानेपानी संस्थानले पनि नसक्ने आफूहरूलाई जानकारी दिएकोले आफूहरूले उक्त प्रतियोगिता स्थगित नगरी होटलको पौडी पोखरीमै गरेको उनले बताए । तीन दिन लागेर मात्र १६ लाख लिटर पानी व्यवस्थापन गर्न सकिने भएको अध्यक्ष ओलीले जनाए । उनले भने, “हामीले पौडी प्रतियोगिता नेपालगन्ज रंगशालामा हुने भनि पूर्व सूचना दिए पनि प्राविधिक कारणले गर्दा हामीले रंगशालामा सञ्चालन गर्न सकेनौं, हामीले प्रदेश स्तरीय पौडी प्रतियोगिताको छनौट भएको स्थल सिग्नेट होटलको पौडी पोखरीलाई नै भेनुका रूपमा प्रयोग गरेका छौं ।” पौडी पोखरी, प्यारापिट, एट्याच वाथरुम, कार्यालय भवनसहितको संरचना निर्माणका लागि करिब २३ करोडको योजना रहेको जसमध्ये पहिलो चरणमा १५ करोडको काम तीव्र गतिमा भएको उनले जनाए । त्यसैगरी नेपालगन्जमा भएको ८ औं खेलकुदल १३ वटा खेल पूर्वाधार निर्माण भएको उनले बताए । कपिलवस्तुमा २५ लाखको लागतमा कुस्ती खेल मैदान निर्माणदेखि नेपालगन्ज रंगशालामा १० हजार दर्शक क्षमताको भीआईपी फुटबल रंगशाला निर्माण हुनुले आफूहरूलाई धेरै सहयोग मिलेको अध्यक्ष ओलीले जनाए । समयमै खेल पुर्वाधार निर्माण हुन नसक्दा केही कमिकमजोरी भएको बताउँदै उनले थप आर्थिक भारसमेत भएको उल्लेख गरे । उक्त रंगशाला १९ करोड लागतमा निर्माण भएको हो भने सोमबारदेखि हुने सेमिफाइनलका खेलहरू सोही मैदानमा हुने भएको छ । पौडी प्रतियोगिता आइतबारदेखि सिग्नेट होटलको पौडी पोखरीमा सुरु भएको छ । प्रतियोगितामा ११ टिमका १ सय ३२ जना खेलाडी सहभागी भएका छन् । ३४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको बताइन्छ । प्रतियोगिता वैशाख ११ गतेसम्म चल्ने भएको छ । 

 

दीननाथ बराल-लक्ष्मण ढुंगाना