लक्ष्मण ढुंगाना
बुधवार, बैशाख ४, २०७६
537

बाँके-पश्चिम तराईको आर्थिक हव मानिएको बाँकेको नेपालगन्जमा दिन प्रतिदिन ठूलाठूला होटलहरूमा लगानी गर्ने क्रम बढिरहेको छ । नेपालगन्जबाट हुम्ला सिमीकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण होटलमा लगानी बढेको हो । पश्चिम तराईको आर्थिक हव मानिएको बाँकेको नेपालगन्जमा दिन प्रतिदिन ठूलाठूला होटलहरूमा लगानी गर्ने क्रम बढिरहेको छ । नेपालगन्जबाट हुम्ला सिमीकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण होटलमा लगानी बढेको हो । होटल व्यवसायीहरूका अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरमा होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटलहरूलाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।होटल व्यवसायी संघका अनुसार जिल्लाभरि साना ठूलो गरी करिब ३ हजार होटल सञ्चालनमा छन् । ती सबै होटलमा ५ हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ ।  जिल्लाका सबै होटलमा कति लगानी भयो भन्ने एकिन तथ्यांक नभए पनि बाँकेका सबै होटलमा गरी अर्बौं लगानी भइसकेको संघको अनुमान छ । साना होटलसँगै बाँकेमा ठूलो लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ । पर्यटन विभागका अनुसार देशभर पाँचतारे होटलको संख्या १३ पुगेको छ । प्रदेश नम्बर ५ मा ३ होटलले पाँचतारेको मान्यता पाउँदा बाँकेमा २ वटा पाँचतारे होटल खुली सकेका छन् । पछिल्लो समय भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधासम्पन्न होटल खुल्न थालेका हुन् । मानसरोवर मात्र नभएर नेपालगन्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायीहरू बताउँछन् ।होटलमा लगानीकर्ता आकर्षित हुँदै गर्दा बाँकेको नेपालगन्ज र कोहलपुरमा ९ वटा तारे होटल सञ्चालनमा छन् भने ३ वटा नयाँ होटल सञ्चालन हुने क्रममा छन् । ती होटलमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको व्यवसायीहरू बताउँछन् । यसबीचमा जिल्लामा २ वटा पाँचतारे होटल खुलिसकेका छन् भने चारतारेको संख्या २, तीनतारे ५ र अन्य सुविधासम्पन्न पर्यटक स्तरीय होटलहरू छन् । भर्खरैमात्र पाँचतारेको मान्यता पाएको सोल्टी होटलले सवा अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ । होटलेको अस्वस्थ प्रतिस्पर्धाले सुरुमा निकै चिन्ता गर्नुपर्ने अवस्था रहे पनि हाल व्यवसाय सन्तोषजनक रहेको होटल सोल्टीका म्यानेजर इन्द्र खड्काले बताए । होटल व्यवसायको निकै सम्भावना भएपछि बाँकेमा यसअघि सञ्चालनमा आएका होटलहरूलाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटलमा सम्भावना देखेका बाँकेका व्यवसायीले क्रमस स्तरोन्नति गर्दै गएका हुन् । केहीसमय अघिमात्र पाँचतारेको मान्यता पाएको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाले ८० करोड लगानी गरिसकेको छ भने अझै लगानी विस्तार गर्ने क्रममा छ । देशका विभिन्न स्थानमा होटल व्यवसायमा गुणस्तरीय सेवा प्रदान गरेर ख्याति कमाएको सिद्धार्थ समूहले हाल चारतारेको मान्यता पाएको सिद्धार्थ भ्यू–होटलको क्षमता विस्तार गरेर पाँचतारेको तयारीमा छ । होटलको स्तरोन्नति गरेर चाँडै पाँचतारे खोल्ने प्रक्रियामा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए, जसका लागि आवश्यक पूर्वाधारको रूपमा स्वीमिङ पुललाई अपग्रेड गर्ने काम भइरहेको छ भने २ हजार जना अट्ने नेपालगन्जकै सबैभन्दा ठूलो ब्याकेट हल बनिसकेको प्रबन्धक न्यौपानेले बताए । साथै नेपालगन्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने होटलको ८ तले बिल्डिङमाथि रुफटप रेस्टुरेन्ट सञ्चालनको तयारी रहेको सिद्धार्थ ग्रुपले जनाएको छ । त्यस्तै बाँकेका होटलमा परिचित नाम होटल किचन हटले पनी स्तरोन्नति गरेर सेवा विस्तार गरी चारतारेको तयारीमा छ । त्यस्तै भर्खरै सञ्चालनमा आएको खनाल कम्लेक्स, बहुराष्ट्रिय कम्पनी सिग्नेट इनले व्यवस्थापन सम्हालेको होटल कृष्णा त्यस्तै ह्वाइट हाउस रिजेन्सीलगायत होटल सञ्चालनमा आएका छन् । अत्याधुनिक सुविधाका होटलहरू खुल्ने क्रममा नेपालगन्जमा झन्डै पौने अर्बको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनको तयारीमा रहेको प्रवन्ध निर्देशक सीताराम यादवको भनाइ छ । नयाँ–नयाँ सुविधासम्पन्न होटल खुल्दै गए पनि लगानीको सुरक्षा नभएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय अर्बौंको लगानी जोखिममा परको भन्दै तारे होटलका सञ्चालक एकजुट भएर तीन पटक बैठक बसिसकेका छन् ।  बैठकले होटललाई तीन वर्गमा वर्गीकरण गर्ने, कोठाहरूको न्यूनतम दररेट तोक्ने, कन्फेरेन्स प्याकेजको दर रेट, विदेशी पर्यटकका लागि डलर दर रेट  (भारतीय बाहेक), कैलाश यात्रा दररेट र उधारो उठाउने, होटलमा बास बस्नेलाई परिचयपत्र, सुरक्षा व्यवस्था र सेवा शुल्कबारे छलफल जारी राखेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पीटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए । “अस्वस्थ्य प्रतिस्पर्धाले हामी सवैलाई घाटा भइरहेको छ,” उनले भने, “सबै होटलमा एकरूपता कायम होस भनेर एउटै मापदण्ड बनाएका छौं ।”व्यवसायीहरूले होटलको वर्गअनुसार दररेट कायम गरेको र अनुगमन गर्ने संयन्त्र तयार गरेको उनको भनाइ छ । “अब सहमतिविपरीत कोही गएको पाइए एक पटकमा ५० हजार जरिवाना गर्ने व्यवस्था थालेका छौँ,” उनले भने । होटललाई व्यवसायीले ए, बी र सी गरी तीन वर्गमा विभाजन गरेर न्यूनतम दररेट निर्धारण गरेका छन् । मानसरोवरका नाममा ट्राभलले होटलमा उधारो राखेर व्यवसायीलाई धरापमा पार्ने काम भएको उनीहरूको गुनासो छ । अब मानसरोवरको कारोबार नगदमै गर्ने र पहिले उधारो चुक्ता नगरेका ट्राभल एजेन्टले पठाएका पाहुनालाई नराख्न उनीहरू सहमत भएका छन् । अस्वस्थ्य प्रतिस्पर्धाका कारण न्यूनतम दररेटमा सेवा दिनुपर्दा होटलमा गरेको लगानी जोखिममा रहेका कारण अहिले आफूहरू एकजुट भएको होटल सेन्टर प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताए । “हामी एकजुट भएपछि पहिले भन्दा कारोबार बढेको छ,” उनले भने ।