मीनकुमार नवोदित
सोमवार, बैशाख २, २०७६
351

सेन्ट्रल मलमा उपभोक्ताका लागि उपहारै–उपहार

विराटनगर- नेपालमै पहिलो स्ट्रील लेन नमुना दाबी गरिएको विराटनगरको मुटुमा अवस्थित सेन्ट्रल मलमा उपभोक्तालाई लक्षित गरी विभिन्न उपहार योजना सुरु गरिएको छ ।
सेन्ट्रल मल सञ्चालकले नयाँ वर्षको अवसर पारेर उपहार योजना सार्वजनिक गरेको हो । विराटनगरका तीन ठूला औद्योगिक घरानाको १ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको मलमा आइतबारदेखि ‘सेन्ट्रल मल शुभारम्भ–२०७६’ लागू भएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना विशाल गु्रप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको संयुक्त लगानी रहेको मल गत फागुन २० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
मलका सञ्चालक प्रकाश मुन्दडाका अनुसार मलमा २ हजारको सामान खरिद गर्ने ग्राहकलाई एउटा लक्की कुपन प्रदान गरिनेछ । जसमध्येबाट हरेक दिन १–१ जनाले मोबाइल, विराटनगर–काठमाडौं–विराटनगर हवाई टिकट, पाँच जनाले २ हजार रुपैयाँ बराबरको नगद भौचर, १० जनाले सेन्ट्रल मल्टिप्लेक्सको निःशुल्क टिकट प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक हप्ता लक्की कुपनमार्फत १–१ जनालाई टेलिभिजन र वासिङ मेसिन प्रदान गरिने सञ्चालक मुन्दडाले जानकारी गराए । “सेन्ट्रल मलमा आएर खरिद गर्ने ग्राहकलाई हौसला प्रदान गर्न हामीले उपहार योजना ल्याएका हौं,” मुन्दडाले भने, “साथै मलको स्ट्रचर हेरेर पनि ग्राहकले गौरवको महसुस गर्नुहुनेछ ।” सेन्ट्रल मल विराटनगरको गौरव भएको उनको भनाइ छ ।
महिनाको अन्तिम दिन बम्पर उपहारस्वरुप १–१ जनालाई स्कुटर, यामाहाको मोटरसाइकल र युरोप भ्रमणको हवाई टिकट प्रदान गर्ने अर्का सञ्चालक विकाश चौधरीले जानकारी दिए । मल सञ्चालनमा आएको एक महिनामा १० लाखभन्दा बढी ग्राहक मलमा आएको उनको दाबी छ । उनका अनुसार यो अवधिमा ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । भारतीय सीमावर्ती बजार जोगबनी जाने ग्राहकसमेत मल सञ्चालनमा आएपछि घटेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरुप अन्तर्राष्ट्रियस्तरको किनमेल तथा मनोरञ्जनस्थलको रुपमा सेन्ट्रल मल सञ्चालनमा ल्याइएको मुन्दडाले बताए । १ हजार ३४ स्क्वायर फुटमा ३ तले संरचनामा निर्मित मलभित्र दुईवटा अत्याधुनिक प्रविधियुक्त मल्टिप्लेक्स (सिनेमा हल), सुपरमार्केट, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा चर्चित ब्राण्डहरूका १ सयभन्दा बढी शोरुम, २५० जना क्षमताको फुडकोर्ट, रेष्टुरेन्ट, १५ वटा गेमिङ जोन, व्यूटीपार्लर, शैलुन, एटीएम, ३५ हजार वर्गफिटको अन्डरग्राउण्ड पार्किङलगायतको सुविधा मलमा उपलब्ध छ । मलमा ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।