कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५
707

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ तरिकाले उद्योग खोल्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ औं साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण निमार्ण भइसकेको भन्दै नयाँ ढंगले उद्योग खोल्न आग्रह गरेका हुन् । उनले कृषि, उपभोग्य वस्तु, खानी उत्खननलगायतका उद्योगमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । आवश्यक परेमा पेट्रोलियम पदार्थको उत्खननसमेत गरिने भन्दै विद्युतीय गाडीको कारखानामा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । विद्युतीय गाडीको कारखानामा खोल्न सरकारले सहयोग गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमार्फत नेपालमा लगानी गर्न विदेशी संस्थाहरू तयार रहेको स्पष्ट भएको भन्दै कही कमी भए सच्याइने बताएका छन् । “ऐन कानुनमा भएका कमि कमजोरी के छन् यो हुनुपर्नेमा यो भयो भनेर किटानी गरेर आउनुस् आवश्यकताअनुसार परिमार्जनमा लागि सरकार तयार छ,” प्रधानमन्त्री ओली भन्छन, “भएन भनेर मात्रै हुँदैन, हुनुपर्ने विषय के थियो भन्नेमा स्पष्ट धारणा राख्नुस्,” उद्योगी व्यवसायीलाई सरकारलाई आरोप लगाउनेभन्दा पनि सहि मार्ग के हुन्छ त्यसमा ध्यान दिन उनले आग्रह गरेका छन् ।

यसका साथै कार्यक्रममा उनले नेपालको सडकमा भिकमाग्ने मान्छे खोजीखोजी हटाउने पनि बताएका छन् । उनले नेपाल भिकारीको देश नभएको भन्दै अब कुनै पनि नेपाली नागरिक सडकमा जिङरिङ्ग कपाल फिजाएर बस्न नपर्ने दावी गरे । “सडकमा छेउमा कोही लडेको, असहाय, खान नपाएको व्यक्ति देखे सरकारलाई खवर गर्नुस, सरकारले उसको हेरविचार गर्छ,” प्रम ओली भन्छन्, “कोही नहुनेहरूका लागि सरकार छ ।”
कार्यक्रमा महासंघकी अध्यक्ष भवानी रानाले विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि आह्वान गरिरहँदा स्थानीय समुदाय उद्योगी व्यवसायीप्रति उत्साहित, सकारात्मक र सहयोगी बन्न नसकेको बताइन् । बैंक ब्याजदरलाई लिएर पछिल्लो पटक समस्या उत्पन्न भएको भन्दे बैज्ञानिक ढंगले आधार तय गर्न पनि उनले आग्रह गरिन् । करदाताको सम्मानको व्यवहार गर्नुपर्ने, अनुगमनको नाममा व्यवसायीको मानमर्दन भएको तथा समाजिक वेइज्यती समेत सहनुपरेको अनुभव सुनाइन् । स्वदेशी पुँजीबाट निर्माण गर्न नसकिने ठूला पूर्वाधारमाहरूमा विदेशी लगानी ल्याइ स्वदेशी लगानीकर्तालाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो ।

दाहसंस्कार नहुँदै गोल्छालाई महासंघले बिर्सियो
नेपाल उद्योग वाणिज्य महासंघले ५३ औं वार्षिक साधारणसभा एंव उद्योग वाणिज्य दिवस भव्यताका साथ मनाउँदै गर्दा पूर्व प्रथम उपाध्यक्ष दिवाकर गोल्छालाई बिर्सिएको छ । बुधबार निधन भएका गोल्छाको दाहसंस्कार पनि हुन नपाउँदै महासंघले उनका नाममा अध्यक्ष तथा पदाधिकारीले दुई शब्द पनि खर्चिन सकेनन् । झन्डै १७ मिनेट लगाएर स्वागत मन्तव्य दिएकी अध्यक्ष राणाले श्रद्धान्जलीसमेत नदिएपछि उपस्थित उद्योगी व्यवसायीमाझ समवेदनामा महासंघभित्र राजनीति भएको बताए । हालको विधानले राणापछि अध्यक्ष बन्ने लाइनमा रहेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका दाजु दिवाकर गोल्छा हुन् । दिवाकर गोल्छाको निधन भएको कारण वरिष्ठ उपाध्यक्ष शेखर महासंघको ५३ औं साधारणसभामा उपस्थित थिएनन् । गोल्छा २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए ।