विपेन्द्र कार्की
बिहिवार, चैत्र २८, २०७५
544

उद्योगपति दिवाकर गोल्छाले मंगलबार राति भारतको चेन्नाईमा देहत्याग गरे । मृगौलासम्बन्धी रोगका कारण ६७ वर्षीय गोल्छाको इहलिला समाप्त हुँदा मुलुकको औद्योगिक क्षेत्रमा ठूलो रिक्तता महशुस भएको भएको छ । उनका समकालिन तथा उनलाई नजिकबाट चिन्नेहरू उत्पादनशील उद्योगप्रतिको उनको ‘भोक’को खुलेरै प्रशंशा गर्छन् ।
मुलुकका सबैजसो व्यावसायिक घराना छोटो समयमा नाफा कमाउने ट्रेडिङतिर लाग्दा अथवा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योगबाट हात झिकिरहँदा गोल्छा भने एकपछि अर्को उद्योग खोल्न लागिरहन्थे । गोल्छासँग नेपाल उद्योग वाणिज्य महासंघ र पहिलो संविधानसभामा सहकार्य गरेका खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानको अनुभवमा गोल्छामा उद्योग खोल्ने हुटहुटीमात्रै हुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी पनि गोल्छालाई ‘पक्का उद्यमी’को संज्ञा दिन्छन् ।

“कसैले बैंकको सेयरमा सयको दुई सय हुन्छ भन्यो भने पनि उहाँलाई कुनै परवाह हुने थिएन,” खेतान भन्छन्, “उहाँलाई उद्योगवाहेक केही चाहिँदैनथ्यो ।” उद्योगलाई त्यति भित्रबाटै माया गर्ने व्यक्ति आफुले कोही नपाएको खेतान बताउँछन् । खेतानको अनुभवमा गोल्छा चले पनि नचले पनि उद्योग खोल्नैपर्छ भन्ने मान्यतामा अडिग थिए । “औद्योगिक क्षेत्रमा त्यतिधेरै माइक्रो लेभलको जानकारी राख्ने नेपालमा सायद बिरलै होलान्,” खेतान भन्छन्, “उद्योग प्रवद्र्धनको जिम्मेवारी उहाँले पाएको भए अहिले स्थिति अर्कै हुन्थ्यो, नेपालको औद्योगिक क्षेत्रले निकै फड्को मार्नसक्थ्यो ।”
स्व. दिवाकरकै अग्रसरतामा गोल्छा समूहले हुलास स्टिल्स, हुलास वायर, श्रीराम सुगर मिल, अरिहन्त मल्टिफाइवर्स, इष्टर्न सुगर मिल्स, हुलास खाद्यान्नलगायतका उद्योगहरू स्थापना गरेको थियो । आफ्ना पिता स्व. हंसराज गोल्छाको पदचाप पछ्याउँदै उनी कहिल्यै नाफामुखी भएनन् । उत्पादनमूलक उद्योगले रोजगारी सिर्जना गर्ने तथा मुलुकको साधनस्रोत पनि उपयोग हुने भएकाले उनी मुलुकप्रतिको जिम्मेवारी पूरा गर्न दृढ रहेको खेतानको अनुभव छ ।
“बैचारिक रूपमा हामी विपरीत ध्रुवका थियौं,” खेतान सम्झन्छन्, “म मुद्रासँग जोडिएको व्यवसायतर्फ लागेँ तर उहाँलाई त्यसमा कुनै परवाह भएन ।” तत्कालीन संविधानसभा र एउटै संसदीय समिति (प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाट समिति)मा सदस्य रहेका खेतान गोल्छाको निधनबाट उद्योगप्रति चिन्ता गर्ने र उद्योगमा नै जीवन अर्पण गर्ने असल उद्यमी मुलुकले गुमाएको बताउँछन् ।
गोल्छाकै प्रस्तावमा महासंघको अध्यक्षको उम्मेदवार बनेका जोशी मुलुकको विकासका लागि जसरी पनि उत्पादनमूलक उद्योग नै गर्नुपर्छ भन्ने गोल्छाको जीवनदर्शनबाट आफू प्रभावित भएको बताउँछन् । “उहाँको समूह ट्रेडिङमा पनि छ तर त्यसमा उहाँलाई कुनै चासो थिएन,” जोशी भन्छन्, “आफ्नोमात्र उद्योग हैन, अरु पनि उद्योग खुल्नुपर्छ भन्नेमा उहाँ कटिबद्ध हुनुहुन्थ्यो ।”
गोल्छा संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट सभासद भए पनि आफूलाई निजी क्षेत्रको प्रतिनिधि भएको भन्न रुचाउँथे । कारोबारसँगको कुराकानीमा गोल्छाले भनेका थिए, “हामी निजी क्षेत्रका प्रतिनिधि हौं, कुनै पार्टीका कार्यकर्ता होइनौं । व्यक्तिगत रूपमा भन्नुपर्दा प्रजातन्त्रवादी भए पनि म कुनै दलको कार्यकर्ता होइन ।” नयाँ संविधान बन्ने बेलामा आफूहरूको पनि योगदान हुनसक्छ भनेर संविधानसभामा गएको उनको भनाइ थियो । “सुरुमा निजी क्षेत्रबाट जाने हामी सभाषद्बीच पनि मतभिन्नताहरू थिए तर पछि सबै समाधान हुँदै गए, हामीले धेरै छलफल गरेरै निजी क्षेत्रको समान धारणा बनाउन सफल भयौं,” अन्तर्वार्तामा उनले भनेका थिए, “सम्बन्धित पार्टीलाई सहमत गराउन पनि हाम्रो भूमिका रह्यो ।”
नेपाल उद्योग वाणिज्य महासंघमा प्रथम उपाध्यक्षसम्म भएका गोल्छा तत्कालीन अध्यक्ष चण्डीराज ढकालले दोहो-याउने घोषणा गरेपछि पछि हटे र उनकै प्रस्तावमा द्वितिय उपाध्यक्ष कुशकुमार जोशी अध्यक्षमा निर्वाचित भए । गोल्छालाई अध्यक्षको स्वाभाविक दावेदारका रूपमा हेरिए पनि ढकालले उनलाई जिल्ला नगएको र निष्क्रिय रहेको आरोप लगाए । तर, उद्योग व्यवसायका सूक्ष्म अध्येता गोल्छा महासंघको फोहोरी राजनीतिबाट आफैं टाढिए । गोल्छाले महासंघमा विभिन्न समयमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा १९९६ मा भएको व्यापार सन्धिमा निजी क्षेत्रको तर्फबाट उल्लेखनीय योगदान दिएका थिए । नेपालबाट अधिकांश वस्तु भारत निकासी गर्दा शून्य भन्सार सुविधाका लागि उनी लागिरहेको महासंघका पूर्वअध्यक्ष जोशी सम्झन्छन् । जोशीका अनुसार गोल्छा दूरदृष्टि भएका उद्यमी थिए ।