कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
438

ताइवान एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले वैशाख ५ गते बिहीबारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यती होटलको दरबार हलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
आयोजकको तर्फबाट उक्त अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरिदकर्ताहरूलाई आह्वान गरिएको छ । यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यवसायीहरूका लागि ताइवानी उत्पादक तथा आपूर्तिकर्ताहरूसँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुनसक्ने आयोजकको विश्वास छ ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममासौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्य पदार्थ तथा जुस, स्टील पाता तथा कोइला, एलईडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सीसीटीभि क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका बिषयमा छलफल गर्न सकिने कुरा आयोजकका तर्फबाट नेपालका लागी सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिनुभयो ।
नेपाली व्यवसायीहरूले आफ्नो रुचिअनुसार सम्बन्धित ताइवानी व्यवसायीहरूसँग भेटघाट गरी व्यापारिक समझदारी स्थापना गर्नसक्ने अवसर रहेको देखिन्छ ।