मीनकुमार नवोदित
बुधवार, चैत्र २७, २०७५
513

विराटनगर-प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन् । उनले पुराना संरचना र ऐनका कारण सरकारले काम गर्न नसकेको दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा भएको ‘प्रादेशिक विकास बहस’ लाई सम्बोधन गर्दै मन्त्री आङबोले पुरानै संरचना र मानसिकताका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारे । “ठेक्का प्रक्रिया यति झन्झटिलो छ कि कामै गर्न गाह्रो छ । अहिलेको ऐनमा लामो प्रक्रिया र झन्झटिलो भएका कारण ठेक्का लाग्नै समय लाग्छ,” उनले भने, “ठेक्का प्रक्रियामा जाँदाजाँदै पहिलो चौमासिक सकिन्छ ।” अहिलेको सूचना र प्रविधिको युग सुहाउँदो ऐन नहुँदा काम गर्न कठिनाइ भएको उनको भनाइ थियो । “ग्लोवल टेन्डरको युग आइसकेको छ । संसारको जुनसुकै कुनामा बसेर पनि टेन्डर हाल्न सकिन्छ,” आङबोले भने, “तर हामीकहाँ पुरानो ऐनका कारण टेन्डर प्रक्रिया पूरा गर्नै समय लाग्छ । अब हार्ड एन्ड फाष्ट काम हुनेगरी ऐनमा संशोकन आवश्यक छ ।”

पुरानो संरचना र मानसिकता प्रदेशमा समेत सर्दै आएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म असारे विकास जारी रहने उनले बताए । असारे विकासकै कारण युवाहरू विदेश पलायन हुने गरेको मन्त्री आङ्बोले उल्लेख गरे । “जेठ र असारमा दुई महिना विकासको काम हुन्छ अहिलेको अवस्थामा । अरू बेला कामविहीन हुने अवस्था छ । अनि युवाहरू नविदेशिएर के गरून् ?” उनले भने, “बजेट सक्नका लागि हतारहतार असारमा काम हुँदा गुणस्तरीय हुँदैन । त्यतिबेला कसले अनुगमन गर्ने, कसले गुणस्तरको मापन गर्ने । मुलुक संघीयतामा गइसक्दा पनि यो पञ्जायतकालदेखि चल्दै आएको संस्कार जीवितै छ ।”
अन्तरक्रियामा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढे मुलुकको समृद्धि नहुने बताए । निजी क्षेत्र पनि मुलुक निर्माणको एउटा पाटो हो भनेर सरकारले नबुझेसम्म विकासले गति लिन नसक्ने ठोकुवा गरे । “निजी क्षेत्रलाई सरकारले बेवास्ता गरेकै कारण जति हुनुपर्ने थियो त्यति मुलुकको आर्थिक विकास नभएको हो,” ढकालले भने । निजी क्षेत्रको सहभागिता बिना देशको आर्थिक विकासको कल्पना पनि गर्न नसक्ने उनले दाबी गरे । “सरकार र निजी क्षेत्र एउटै सिक्काका दुई पाटा हुन् भनेर बुभ्mनु जरुरी छ,” ढकालले थपे, “मुलुकको आर्थिक विकासमा निजी क्षेत्र जस्तोसुकै योगदान गर्न तयार छ ।”
कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले पर्यटन, कृषि र ऊर्जाबाट मात्रै देशको विकास हुने बताए । उनले प्रदेश नम्बर १ मुलुकै सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको दाबी गरे । “जोगबनी–किमाथांका सडकको ट्रयाक खोलेर मात्रै हुँदैन । यसलाई ४ लेनको बनाउनुपर्छ,” प्रधानले भने, “त्यसपछि प्रदेश–१ भारत र चाइनाको व्यापरिक हब बन्छ । अनि त्यसपछि हेर्नुहोला प्रदेश–१ मात्रै नभएर समग्र मुलुकको विकास कसरी हुन्छ ।”
अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले जंगबहादुरकै समयको मानसिकताबाट मुलुक ग्रुजिरहेको बताए । उनले कर्मचारीको मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले आफ्नो जीवन आन्दोलनमै बितेको बताए । “म अहिले ६ दशक पार गरें । व्यवसाय सुरु गरेको पनि चार दशक पूरा भइसक्यो । यो अवधिमा आन्दोलनमात्रै भए मुलुकमा । मेरो जीवन आन्दोलनमै बित्यो । अब पनि समृद्धि र विकास नभए कहिले हुन्छ,” श्रेष्ठले प्रश्न गर्दै भने, “के अब भावीपुस्ताले पनि हामीले जस्तै आन्दोलनमा जीवन बिताउने ।” महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले दुई तिहाईको सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि आर्थिक सूचांकहरू निराशाजनक रहेको बताए । इतिहासमै सबैभन्दा बलियो सरकारले एक वर्षमा के कति काम ग-यो भनेर मूल्यांकन गर्ने बेला आएको उनको भनाइ छ । “सेयरको सूचांक घट्दो छ, बजार मूल्य आकाशिँदो छ । बजारमा तरलताको अभाव छ,” राजकर्णिकारले थपे, “व्यापार घाटा हरेक दिन बढिरहेको छ ।”
प्रदेश–१ योजना आयोगका अध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश सरकारले जनमुखी योजना बनाइरहेको जनाए । महासंघका प्रदेश–१ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योगी महेश जाजु, टंक दुलाललगायतले दुई तिहाई बहुमतसहितको स्थायी सरकार बने पनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरे । सरकारले लगानीको उचित वातावरण बनाए मुलुकमा विदेशी लगानी आवश्यक नपर्ने उनीहरूले दाबी गरे । स्वदेशी लगानी आकर्षित हुने वातावरण नबनेसम्म विदेशी लगानी नभित्रिने उनीहरूको भनाइ थियो ।