कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
388

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीशकुमार मोर निर्विरोध निर्वाचित भएका छन् । सोमबार राजधानीमा सम्पन्न परिसंघको १६ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष मोरलाई अध्यक्षमा चयन गरेको हो । परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । लक्की ग्रुपका अध्यक्ष मोर परिसंघको चौथो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष विनोदकुमार चौधरीसहित नरेन्द्रकुमार बस्न्यात र हरिभक्त शर्माले परिसंघको नेतृत्व सम्हालिसकेका छन् । यस्तै, परिसंघ उपाध्यक्षमा अनुजकुमार अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन् । सात उपाध्यक्षमध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन हुनेछन् र उनैले दुई वर्षपछि परिसंघको नेतृत्व गर्नेछन् । गभर्निङ काउन्सिलमा वरिष्ठ उपाध्यक्षमा एकमत नभएमा नेशनल काउन्सिलमा भोटिङका आधारमा चयन हुने प्रावधान छ ।

‘विकासमा प्रदेश सरकार चुक्यो’
प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण काम गर्न नसकेको भन्दै ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तपक्ष तथा विपक्षका सांसदहरूले विकास निर्माणको काम गर्न नसकेकाले जनताले प्रदेश सरकारलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् । आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि विकास खर्च निकै न्यून रहेको भन्दै यसले सरकारलाई असफलतातिर धकेलिरहेको सांंसदहरूको भनाइ थियो । सांसद राधा घलेले प्रदेश सरकार गठन भएको १४ महिना बितिसक्दा पनि जनताले प्रदेश सरकारको अनुभूति गर्न नपाएको भन्दै आलोचना गरिन् । पृष्ठ ५