कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५
404

उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापारघाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टिलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टिलको उत्पादन गर्नुपर्नमा जोड दिनुपर्ने बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको राजधानीमा भएको २५ औं वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले धेरै सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टिलको आयात प्रतिस्थापन गरिनुपर्ने बताए ।
“ग्रिल तथा स्टिलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ, तर यथार्थ के हो भने फलाम र स्टिल भने हामीले आयात गरिरहेका छौं,” उनले भने, “हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन् भने सुन, चाँदी, युरेनियम, पेट्रोल, डिजेल, ग्यास तथा बहुमूल्य धातु हाम्रो जमिनभित्र छन् ।” तर सदुपयोग गर्न नसकिरहेको उनले बताए । नेपालमै उत्खनन भएको फलाम तथा स्टिल प्रयोग गर्नुको विकल्प नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालमै रहेका खानीको उत्खनन् गर्न सबैको ध्यानाकर्षण पनि गराएका छन् ।

पर्यटनको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिला गर्न नहुने सम्बद्ध सरोकारवालाको भनाइ थियो । प्रविधिको विकास नै आजको विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै प्रविधिको आविष्कार र प्राविधि भित्र्याउनेतर्फ सबैको सामूहिक प्रयत्नको खाँचो औंल्याएका छन् । विश्व बजारमा नेपाली उत्पादनका माग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा ग्रिल तथा स्टिल व्यवसायीले पनि गुणस्तरीय वस्तु उत्पादन उपभोक्ताको रोजाइ भएको छ । विश्व बजारमा आज पनि नेपाली वस्तुहरू निर्यात भइरहेकै छन् । तर, अपेक्षित छैन । भनिन्छ, विश्वबजारमा नेपाली वस्तु निर्यात नहुनुको पहिलो कारण उत्पादन नै नहुनु हो, दोस्रो कारण गुणस्तरीय नहुनु
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा रोजगारी सिर्जना गर्न र आर्थिक विकासमा ग्रिल व्यवसायको योगदान धेरै भएको बताए । ग्रिल तथा स्टिल क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरेर कानूनी तथा नीतिगत सुधारमा ध्यान दिनुपर्ने उनले बताए । महासंघका अध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल व्यवसायको क्षेत्रमा दक्ष र अदक्ष गरी करिब एक लाख ६० हजार जनशक्तिका लागि रोजगारी सिर्जना र वार्षिक ४५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भइरहेको ग्रिल तथा स्टिल व्यवासयी भएको जानकारी दिए ।