कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५
591

रुपन्देही-नेपालका चर्चित पर्यटन व्यवसायी तथा बुद्ध सर्किट डट कम र लुम्बिनी पिस म्याराथनका संस्थापक विक्रम पाँडेकाजी ‘अरब एसिया च्याम्बर्स अफ कमर्स बिजनेस अवार्ड–२०१९’ बाट सम्मानित भएका छन् ।
पाँडेकाजीलाई पर्यटन क्षेत्रको माध्यमबाट नौला पर्यटकीय गतिविधि सिर्जना गरी स्थानीयवासीहरूमा आफ्नो संस्कृतिक धरोहर, सम्पदा र वातावरण संरक्षण सम्बद्र्धनबारे जनचेतना ल्याई आयआर्जनको अवसर सिर्जना गर्न गरिएका नविन प्रयासहरूको सरहाना गर्दै सम्मानित गरिएको हो ।

पाँडेकाजी लुम्बिनीमा आयोजना हुँदै आएको ‘लुम्बिनी पिस म्याराथन’ का सर्जक हुन् । विश्वकै पहिलो र एकमात्र यस आध्यात्मिक म्याराथनले लुम्बिनी–कपिलवस्तु क्षेत्रमा ओझेलमा रहेका बुद्धकालीन सम्पदाहरूलाई प्रचारमा ल्याई स्थानीयहरूलाई पर्यटनमार्फत आयआर्जनको अवसर दिने लक्ष्य राखेको छ ।
उनी विश्वमै चर्चा बटुल्दै गएको तेन्जिङ–हिलारी माउन्ट एभरेस्ट म्याराथनका सर्जक हुन् । उक्त म्याराथनले सगरमाथा क्षेत्रमा स्प्रिङ पदयात्रा सिजनलाइ कम्तीमा पनि एक महिना तन्काएको स्थानीयहरूको विश्वास छ । पाँडेकाजीले विश्वमै पहिलोपल्ट सगरमाथालाई ‘क्लाइम्ब एभरेष्ट, क्लिन एभरेष्ट र रन एभरेष्ट’ गरी तीन क्षेत्रमा रिब्रान्डिङ गरी साहसिक पर्यटन, वातावरण संरक्षण तथा साहसिक दौड जस्ता नौलो पर्यटन कार्यक्रम बिश्वलाइ दिएका छन् ।
च्याम्बरका अध्यक्ष एस कृष्ण कुमारले भारतको हैदराबादमा आयोजित एक कार्यक्रमबीच पाँडेकाजीलाइ अवार्ड र प्रशंसापत्र सहित सम्मान गरेका हुन् । सम्मान समारोह अघि आयोजना गरेको राउण्डटेबलमा बोल्दै पाँडेकाजीले अरब–एसिया क्षेत्रका व्यवसायीहरूलाई नेपालमा पनि लगानी गर्न आग्रह गरे । “मेरो देशले विदेशी लगानी भिœयाउन नेपाल लगानी सम्मेलन–२०१९ आयोजना गरेको छ, म यहाँ उपस्थित सबैलाई नेपालमा लगानी गर्न आग्रह गर्छु । नेपाल भ्रमण गरी व्यापार व्यवसाय गर्ने प्रक्रिया सरल गर्न राज्यले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू बुझ्नुहोस्, हेर्नुहोस् र लगानीबारे निर्णय गर्नुहोस्,” उनले लगानीकर्तालाई भने ।