कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
462

एएनएसको सहायक कम्पनी एड प्याड प्रालिले चाहना मिडिया प्रालिको नेपाल लोकस्टारलाई प्रचार–प्रसार तथा बिक्री वितरण गर्ने सम्झौता गरेको छ । आधिकारिक एजेन्सीका रूपमा काम गर्ने गरी एड प्याडको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल लोकस्टार नेपालीहरूको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना–कुनामा लुकेको लोक प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमका निर्णायक मण्डलमा बहुप्रतिभाशाली जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल छन् ।

कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल–२०१२, शुभेक्षा खड्का र लोकगायक अशोक धिताल छन् । निकै रोमान्चक ढंगले आयोजित सोकार्यक्रममा साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनोट प्रक्रिया हुनेछ । नेपाल लोकस्टार एपी वान च्यानलमा जेठ २५ गतेबाट हरेक साता शनिबार र आइतबार प्रशारण गरिनेछ । यस कार्यक्रममा ३१ शृंखला रहने र तेस्रो, दोस्रो र पहिलो बिजेताहरूलाई क्रमशः १० लाख, २५ लाख र ५० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
नेपालको लोकसंगीत र कला लोप हुनबाट बचाउन यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको साथै नेपाल लोकस्टार अहिलेसम्मकै ठूलो सेट डिजाइनमा सबैभन्दा बढी सहभागीहरू समेटी सातै प्रदेशबाट विभिन्न कार्यक्रम सहित उक्त टेलिभिजनमा प्रस्तुत गरिने जनाइएको छ ।