कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
674

ललितपुरमा चैत १३ देखि १७ सम्म कला तथा संस्कृति महोत्सव–२०७५ हुने भएको छ । विश्वकला परिषद्द्वारा ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको उपलक्ष्यमा ललितपुरलाई हस्तकला नगरीको रूपमा प्रवद्र्धन गर्न तथा स्थानीय हस्तकला व्यवसाय प्रवद्र्धन तथा सम्बर्दन गर्ने उद्देश्यले ललितपुर महानगरपालिका–१६ को संयोजकत्वमा चैत १३ देखि १७ सम्म ललितपुर महानगरपालिका–१६ भित्र पर्ने सबै टोल तथा संघ–संस्थाको सहभागितामा कला तथा संस्कृति महोत्सव–२०७५ आयोजना हुन लागेको हो ।
लपुमनपा–१६ मा मूलतः ललितपुरलाई कला नगरको रूपमा चिनाउने तथा युनेस्को विश्व सम्पदामा पर्ने पाटन दरबार क्षेत्र र हिरण्य वर्ण महाविहारको साथै कला र संस्कृतिले धनी अन्य बहाल, बहिल, मन्दिरहरू अवस्थित छन् । साथै यहाँको जनसंख्याको ६० प्रतिशतभन्दा बढीको मुख्य पेसा हस्तकलासँग सम्बन्धित रहेको अवस्था पनि भएको आयोजकले जनाएका छन् ।

ललितपुरलाई कला नगरीको रूपमा जोगाउन र चिन्हाउन वडा नं १६ को संयोजकत्वमा वडावासीहरू तथा अन्य वडाका वासीहरूले आ–आफ्ना उत्पादित हस्तकलाका वस्तुको प्रदर्शनीका साथै मौलिक संस्कृति र अमूर्त सम्पदा झल्किने खालका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्ने आयोजकले जनाएका छन् ।
विभिन्न स्थानहरूमा ललितपुरलाई कला नगरीको रूपमा चिनाउने खालका शैक्षिक, चेतनामूलक र सूचनामूलक सामग्रीहरूको प्रस्तुति पनि गरिने भन्दै आयोजकले कार्यक्रममा पाटन क्षेत्रलाई बेलुकाको पर्यटक गन्तव्य बनाउन सहयोग हुने खेलकुद, मनोरन्जन आदिको समेत थालनी गरिने जनाएको छ ।
आयोजकका अनुसार यस महोत्सवले पर्यटन वर्ष–२०२० को समेत प्रचार–प्रसार गर्ने र ललितपुरलाई पर्यटन वर्ष २०२० को प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गर्ने लक्ष लिएको छ ।