कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
426

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा भएको बम बिस्फोटनको सम्बन्धमा राष्ट्रिय व्यावसायिक पहलले भत्र्सना गरेको छ ।
राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारद्वारा प्रेषित विज्ञप्तिमा राष्ट्रिय व्यावसायिक पहलका संस्थापक सदस्य नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा निज र उनको परिवारको ज्यानजोखिममा पर्ने गरी तथा निजी सम्पत्तिको क्षति हुने गरि भएको बम विस्फोटनको घटनाको सम्पूर्ण उद्यमी व्यवसायीहरूले घोर भत्र्सना गरेको जनाएको छ ।

गरिबी, बेरोजगारी, अतिसुस्त आर्थिक विकास, भ्रष्टाचार, बदलिदो जलवायुको प्रभाव आदिजस्ता नेपाली जनताका मूल समस्याहरू समाधान गर्न समाजका सम्पूर्ण अवयवहरू लाग्नुपर्ने र त्यसका लागि निजी लगानी र उत्पादनशील निजी क्षेत्रलाइ बढी से बढी प्रोत्साहन गर्नुपर्ने समयमा निजी क्षेत्रलाई तारो बनाइ आक्रमण गर्ने, हतोत्साहित पार्ने, संगठित एवं सिलसिलाबद्ध रूपमा निजी क्षेत्रलाई नै प्रमुख लक्ष गरी बम बिस्फोटन गराउने जस्ता घटनाहरूले नेपाली समाजले अत्यधिक धेरै मूल्य चुकाएर प्राप्त गरेको शान्ति कमजोर हुँदै गएका भन्दै मालाकारद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “नयाँ राजनीतिक व्यवस्थासहित संक्रमणकालको अन्त हुन नपाउँदै देशमा फेरि सशस्त्र हिंसा र अशान्ति फैलिने शंका उत्पन्न गरेको छ ।”
नेपाली उद्योग व्यवसायबाट जबर्जस्ती र चन्दा नदिएमा आतंकित तुल्याउने तथा आम नागरिकको धन सम्पत्ति एवं जिउ ज्यानसमेत खतरामा पर्ने परिस्थिति निर्माण भएकाले सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, सुरक्षित रूपमा उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न तथा दोषी पहिचान गरी कडाभन्दा कडा कारबाही गरी निजको भौतिक सम्पत्तिमा भएको क्षतिको उचित क्षतिपूर्ति दिलाइ कानुनी शासन बहाल गर्न पनि राष्ट्रिय व्यावसायिक पहलले माग गरेको छ ।