कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
484

निर्माण कार्यमा हुने गरेको ढिलाइको दोष आफूहरूलाई लगाइएको भन्दै निर्माण व्यवसायीहरूले गुनासो गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्या बारेमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग बुधबार गरेको छलफलमा महासंघका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माणका काममा ढिलाइ भए पनि सबै दोष निर्माण व्यवसायीलाई मात्र थोपरिने गरेको गुनासो गरेका हुन् ।
सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यवहारिक प्रक्रिया तथा समयमा नै आवश्यक बजेट निकासा नहुँदा काममा ढिलो हुने गरेको पनि अध्यक्ष सिंहले बताए । महासंघका सल्लाहकार समेत रहेका पूर्वअध्यक्ष जयराम लामिछानेले विदेशी निर्माण कम्पनीलाई नेपालमा काम गर्न दिन हुँदैन भन्ने पक्षमा आफूहरू नरहेको तर महत्वपूर्ण र ठूला आयोजनामा विदेशीका साथै नेपालीले पनि अनिवार्य टेण्डर प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग गरे । यस किसिमको व्यवस्थाले विदेशी सीप तथा प्रविधि नेपालमा भित्रने र नेपाली निर्माण व्यवसायी पनि सक्षम हुने दाबी उनले गरे ।

बैठकमा सांसदहरूले केही निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा समग्र विकासको काममा वाधा पुगेको तथा मुलुकलाई समेत ठूलो घाटा भएको धारणा राखेका थिए । देशका विभिन्न भागमा सडक तथा पुल निर्माणको ठेक्का प्राप्त गरेका व्यवसायीले लामो समयसम्म पनि काम सम्पन्न नगर्दा जनतालाई निकै समस्या भएको उनीहरूको भनाइ थियो ।
बैठकमा उठेका विभिन्न विषयमा थप छलफल गर्न आगामी बैठकमा सरकारी र अन्य सम्बद्ध निकायका जिम्मेवार पदाधिकारीलाई पनि बोलाउने सहमति भएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकमा महासंघका तर्फबाट उपाध्यक्ष आङदोर्जी (एडी) लामा, महासचिव रोशन दाहाल, उप–महासचिव टंकप्रसाद चौलागाईं, निर्माण व्यवसायी पदम गुरुङ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत सहभागी थिए ।
यसैबीच भारतको चेन्नइमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित ११ जना रहेका छन् । तीन दिनसम्म चल्ने कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको विकास निर्माणको गतिविधि तथा जलविद्युत् क्षेत्रको विकासका विषयमा छलफल हुने अध्यक्ष सिंहले बताए ।