केशव समर्पण
बिहिवार, फाल्गुन ३०, २०७५
279

हेटौंडा- कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ करोडको कारोबार भएको छ । १० दिनको अवधिमा करिब १ लाख जनाले मेलाको अवलोकन गरेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
फागुन १८ गतेदेखि सुरु भएको मेलाको मंगलबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । समापन समारोह सकिए पनि बुधबार एक दिन प्रदर्शनी तथा व्यापार भने जारी रहने संघका सचिव एवं प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए । मेलामा मकवानपुरका चेपाङहरूले खाने गिट्ठा, भ्याकुरजस्ता स्थानीय तथा मौलिक वस्तुहरूको प्रदर्शनीमा राखिएको थियो । पञ्चेबाजा, खैंजडी भजन जस्ता स्थानीय संस्कृति, भेषभूषाहरूको प्रदर्शन पनि भएको थियो । स्थानीय जातका माछा, मह, कृषि उपजहरूको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो । मेलामा लघु तथा घरेलु उद्यम, हस्तकला, औद्योगिक वस्तु तथा सेवाको प्रवद्र्धनका लागि प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

हेटौंडा–५ स्थित क्याम्पाडाँडा चौरमा आयोजित मेलामा ४ सयवटा स्टल राखिएको थियो । मेलामा ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिइएको थियो । दैनिक राष्ट्रिय कलाकारहरूले दैनिक प्रस्तुति दिएका थिए । हात्ती शयर, हेलिकोप्टरबाट हेटौंडाको दृश्यावलोकनको व्यवस्था गरिएको थियो ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा मेला समापन समारोहको आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नेता बानियाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न औद्योगिक मेलाले सहयोग पु¥याएको भन्दै प्रशंसा गरे । मेला तथा महोत्सवले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध नजिकिने र कारोबार पनि राम्रो हुने भएकाले यसले समाजिक र आर्थिक परिवर्तनमा महत्व राख्ने बानियाँको भनाइ थियो ।
देशमा आर्थिक समृद्धि हासिल गर्न सरकारले निजी क्षेत्रलाई साथसाथै लिएर हिँड्नुपर्ने उनको सुझाव थियो । अर्को प्रसंगमा बानियाँले भौगोलिक तथा रणनीतिक हिसाबले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुनुपर्नेमा जोड दिए । सबै हिसाबले उपयुक्त हुने देखेरै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकिएको भन्दै उनले अब यसैलाई स्थायी गर्नुको विकल्प नभएको बताए । सरकार र सिके राउतबीच भएको समझदारीको पनि बानियाँले विरोध गरे । सिके राउतसँग सम्झौता गर्दा सरकार चिप्लिएको उनले टिप्पणी गरे । राष्ट्रिय एकता, अखण्डतामाथि नै कुठाराघात हुने गरी सम्झौता गरिएको भन्दै उनले आपत्ति जनाए ।