भगवान खनाल
बुधवार, कार्तिक १, २०७४
509

मुलुकको निर्माण व्यवसायमा विद्वत वर्गले खासै रुचि देखाउँदैन । साम, दाम, दण्ड र भेद चारै उपायको प्रयोग गर्नुपर्ने यो क्षेत्रमा अपबाद थिए– शरद गौचन । २०३४ को एसएलसी बोर्डमा परेका गौचन पुल्चोक क्याम्पसबाट डिप्लोमासम्मको अध्ययन पूरा गरेरै यस क्षेत्रमा प्रवेश गरेर आफ्नो व्यावसायिक जीवनमा मृत्युपर्यन्त निष्ठा कायम राख्ने थोरै व्यवसायीमध्ये अग्रपंक्तिमा पर्छन् ।
अज्ञात समूहको गोली लागि हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा डाँफे कन्स्ट्रक्सनका सञ्चालक गौचन हत्याको मंगलबार नवौं दिन हो । उनको जातीय संस्कृतिअनुसार आज चोखिने दिन पनि हो । थकाली सेवा समाजको केन्द्रीय कार्यालयमा उनको चोखिने कार्यक्रम छ भने महासंघको कार्यालयमा शोक सभाको पनि आयोजना गरिएको छ । सरकारद्वारा निर्माण क्षेत्रको पहिलो सहिद घोषित स्व. गौचनलाई उनका समकालीन भने सरल, मृदुभाषी र कर्तव्यनिष्ठ व्यवसायीका रूपमा स्मरण गर्छन् ।

चालिसको दशकमा पोखरामा स्थापना गरेको डाँफे कन्स्ट्रक्सन कम्पनीबाट निर्माण क्षेत्रमा हात हालेका गौचन सरल, भद्र र मिलनसार स्वभावका रहेको सम्झन्छन्, महासंघका सचिव विष्णु बुढाथोकी । ०५४ को तदर्थ समिति स्थापनादेखि महासंघको अध्यक्ष हुँदासम्म निर्माण व्यवसायीको ‘टेको’ बनेका गौचन साना व्यवसायीका ठूला संरक्षणकर्ता रहेको बुढाथोकी सम्झन्छन् । महासंघका नवौं अध्यक्ष रहेका गौचन नेपालका ‘क’ वर्गका शालिन निर्माण व्यवसायी थिए ।
सानो व्यवसायीबाट आफ्नै पौरखले माथि उठेका गौचन १२ हजार व्यवसायीका नेतृत्व त थिए नै, यसको अलावा उनी राष्ट्रको आर्थिक समृद्धिको रथको एउटा पाङ्ग्रा पनि थिए । पूर्वाधार विकास निर्विकल्प देखिएको यो समयमा निर्माण व्यवसायी देश विकासका पक्कै पनि सारथि हुन् । तर, यतिबेला नेतृत्व गुमाएका व्यवसायीहरू राष्ट्रले आफूहरूलाई संरक्षण गर्न नसकेको दुखेसो गर्छन् । “अन्तर्राष्ट्रिय क्षेत्रमा निर्माण व्यवसायीलाई राज्यले नै संरक्षण गर्छ,” बुढाथोकीले भन्छन्, “तर नेपालमा त्यस्तो महसुस हुन सकेको छैन ।”
गौचन सार्वजनिक खरिद ऐन, ०६३ को संशोधनका मुख्य अभियन्ता थिए । महासंघले स्वागत गरेको यस खरिद ऐन अझै पनि व्यवसायमैत्री मात्र नभइ देशमैत्री नै नभएको महसुस गरिरहँदा उनको हत्या भयो । बुढाथोकी सम्झन्छन्, “गुणस्तरीय कामलक्षित गरी खरिद ऐन बनाउनु पर्छ, अझै पनि ऐन ‘विकास साझेदार’ लक्षित देखिएको छ, अनिमात्र उनको सच्चा श्रद्धाञ्जली हुनेछ ।”
निर्माण क्षेत्रमा प्रवेश गरेदेखि निरन्तर यही व्यवसायमा लागिपरेका शेरचन व्यवसायलाई उँचो बनाउन लागिपरिरहेका व्यक्तित्व भएको पूर्वअध्यक्ष जयराम लामिछाने बताउँछन् । तत्कालीन अवस्थामा पोखरा क्षेत्रका निर्माण व्यवसायीलाई संगठित गर्दै अघि बढेका गौचन निर्माण व्यवसायी महासंघका अध्यक्षसम्म भए । एकपटक सचिव, सल्लाहकार र तीनपटक महासचिव बनेपछि उनी महासंघको अध्यक्ष बनेका थिए । उनले आफू अघिका सबै अध्यक्षलाई सफल बनाउन अतुलनीय भूमिका पनि निर्वाह गरेको लामिछाने स्मरण गर्छन् ।
भवन, सडक र अन्य पूर्वाधारको क्षेत्रमा क्रियाशील थिए गौचन । गौचनको हत्यापछि सरकारले महासंघको आग्रहमा केही व्यवसायीलाई व्यक्तिगत सुरक्षा प्रदान पनि गरेको छ । महासंघले यो बीचमा गरिएका बोलपत्रको अवधि दुई हप्ता पछि सार्न पनि सरकारलाई आग्रह गरेको छ ।
गौचनका छोरा राजधानीमै अध्ययनरत छन् भने एक छोरी अमेरिका र अर्की छोरी अष्ट्रेलियामा अध्ययनरत् छिन् । त्यसो त गौचन आफैंमा पनि ०३३÷३४ सालको प्रवेशिका परीक्षामा बोर्डमा परेका थिए । “उहाँ पनि पढ्न तेजिलो हुनुहन्थ्यो,” लामिछानेले भने, “एसएलसीमा टप टेनमा पर्नु भएको थियो ।” तत्कालीन अवस्थामा नेपालमा पुल्चोक क्याम्पसमा ओभरसियर उत्तीर्ण गरेपछि उनले पोखरा फेवाताल संरक्षण कार्यालयमा अस्थायी रूपमा सरकारी नोकरी समेत गरेका थिए ।
निर्माण व्यवसायीबीच कुनै समस्या आउँदा वा महासंघमा कुनै समस्या आउँदा गौचन नै समन्वयका सूत्राधार हुन्थे । महासंघका पूर्वअध्यक्ष लामिछाने समस्या आउँदा त्यसको व्यवस्थापन गर्न हरदम तत्पर हुने गौचन ‘हुन्न भन्न नजान्ने व्यक्ति’ भएको बताउँछन् । लामिछानेले सम्झन्छन्, “उहाँले कोही कसैलाई पनि हुँदैन भनेर कहिलै भन्नु भएन, मलाई अध्यक्ष बनाउन पनि उहाँले भूमिका खेल्नु भएको थियो ।” उनले सँधै निर्माण व्यवसायी र महासंघ नबिग्रियोस् भनेर बलिदान गर्नु भएको लामिछाने बताउँछन् । “उहाँको दुस्मनै नहुनुपर्ने,” उनी भन्छन्, “जुन समस्या पनि व्यवस्थापन गर्ने ताकत भएको व्यक्तित्व हुनुहुन्थ्यो ।” अपराधीले आफ्ना नेतृत्वको जघन्य हत्या गरेपनि महासंघको नेतृत्व कहिलै नमर्ने र मर्न नदिने व्यवसायीहरू बताउँछन् । महासंघको उहाँको पथमा हरदम अघि बढ्ने बुढाथोकी बताउँछन् ।