कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५
657

झापा-उद्घाटन भएर पनि पूर्ण सञ्चालनमा आउन नसकेको झापाको मेची पुलको समस्या समाधानमा अग्रसरता देखाइएको छ । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गरे पनि भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार सय मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको हो ।
जिल्लाको सदरमुकाम भद्रपुर–५मा पर्ने मेची पुल अहिले हलुका सवारी र पैदलयात्रीको मात्र प्रयोगमा छ । मेची पुल पूर्ण सञ्चालनका लागि पुलबाट १५० मिटर पूर्वतर्फ विहार र बंगालको सीमा हुँदै भारतीय पक्षले बाटो बनाउनुपर्ने हुन्छ भने भद्रपुरको झापाचोकदेखि मेची पुलसम्म १३ सय मिटर लामो बाटो हुलाकी सडकसँग जोड्नुपर्ने हुन्छ । पुल जोड्ने उक्त क्षेत्रको बाटोमा आफ्नो निजी सम्पत्ति परेको भन्दै स्थानीयले मुआब्जा मागेकाले नेपालतर्फ समेत सडक विस्तारमा समस्या भएको छ । पुल पूर्ण सञ्चालनमा आउन नसक्नुले सरकारले गम्भीर रूपमा उक्त विषयलाई नलिएको स्थानीयले औल्याएका छन् ।

‘मेची पुल उद्घाटनपछिको सहजताः समस्या र चुनौती’ विषयमा संवाद समूह झापाले गरेको छलफलबाट मेची पुल पूर्ण सञ्चालनको वातावरण बनाउन तत्काल अग्रसर हुने निष्कर्ष निकालिएको छ । समस्या समाधानका लागि झापा–३ का संघीय, प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, प्रशासन, राजनीतिक दल, भद्रपुर नगरपालिका प्रमुख, उपप्रमुखलगायत सरोकारवालाको संयुक्त छलफलबाट निर्णय गरी अघि बढ्ने तयारी गरिएको छ । झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघलगायतका संस्थाले उक्त कार्यका लागि अगुवाइ गर्ने सहमति जनाएका छन् । सबै पक्ष एक जुट भई प्रधानमन्त्री, विभागीय मन्त्री र भारतीय दूतावासको ध्यानाकर्षण गराई समस्या समाधानमा अग्रसर हुनुपर्ने बताइएको छ ।
झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालका अनुसार नेपाल सरकारले उक्त पुलसँग जोड्ने गरी ‘रोड कनेक्सन’ गरिदिन अनुरोध सहितको आशयपत्र दूतावासमार्फत भारत सरकारलाई बुझाउनुपर्छ । नेपाल सरकारले उक्त आशयपत्र नबुझाउँदा समस्या समाधान हुन नसकेको ढकाल बताउँछन् ।
स्थानीय संघर्ष समितिका संयोजक इन्द्रकान्त झाले झापा चोकदेखि मेचीपुलसम्म १३ सय मिटर दूरीमध्ये २ सय १० मिटर क्षेत्रका बासिन्दाले मुआब्जा पाएको तर १०९० मिटरका बासिन्दालाई मुआब्जा नदिएर विभेद गरेको बताएका छन् । ३२ घरसहित ४८ परिवारको निजी सम्पत्ति उक्त क्षेत्रमा पर्ने बताइएको छ । पुल उद्घाटनका बखत संघर्ष समितिले प्रधानमन्त्रीलाई उक्त क्षेत्रको बाटो अपग्रेडिङ गर्दा ०२१ सालको नक्सामा बाटो कायम रहेको क्षेत्रसँग जोडी घुम्ती कम पर्ने गरी सोझो बाटो बनाउन र त्यसो गर्दा क्षति र मुआब्जा कम हुने सुझावसमेत दिएको छ ।
पहल थालेको झण्डै सात दशकपछि मेची पुल निर्माणले पूर्णता पाएको छ तर पूर्ण सञ्चालन नहुँदा स्थानीयवासीसहित उद्योगी व्यवसायी निराश छन् । २००९ सालबाट पुल निर्माणको पहल थालिएको बताइन्छ । पुल लक्षित गरी गत साउनबाट मुख्य भन्सार समेत भद्रपुरमा स्थापना गरिएको छ । तर, राजस्व छोटी भन्सारको भन्दा पनि कम संकलन भएको बताइन्छ । ५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो । तीन वर्षमा निर्माण पूरा गर्ने भनी ०६६ माघ २१ गते पुलको शिलान्यास भए पनि समयमै पूरा हुन सकेन । अहिले मेची पुल प्रयोग गर्ने हलुका सवारी वा पैदलयात्रीले पुल पारी पुनः मेची बगर हुँदै घुमाउरो बाटोबाट विहारको गलगलिया आवात–जावत गर्दै आएका छन् ।