कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
331

नेपालगन्ज-नेपाल–सीमानामा आयात निर्यातलगायत व्यापार व्यवसायमा अवरोध पुर्याउने खालका विभिन्न समस्याहरूका बारेमा भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराइएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
सीमापारी रुपैडिहामा भारत सरकारले निर्माण गरिरहेको एकीकृत चेकपोस्टको शिलान्यास गर्न रुपैडिहा आएका भारतीय गृहमन्त्री सिंहसँग विशेष समय लिएर भेट गरेर सीमानामा देखिएका व्यवसायीक समस्याहरूबारे जानकारी गराइएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।

“भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई भेटेर नेपालगन्जका उद्योगी, व्यवसायीहरूले सीमानामा भोग्दै आएका विभिन्न समस्याहरूका बारेमा ध्यानाकर्षण गराइएको छ,” अध्यक्ष वैश्यले भने ।
भारतीय गृहमन्त्री सिंहले सीमानामा देखिएका समस्याहरूबारे भारतीय उच्च अधिकारीहरूसँग छलफल गरेर आयात निर्यात र आवागमनलाई सहज पारिने आश्वासन दिएको संघका अध्यक्ष वैश्यले बताएका छन् ।
“उहाँले हाम्रा कुरालाई गम्भीरतापूर्वक लिएर सम्बद्ध अधिकारीहरूलाई टिपोट गर्न लगाए,” मन्त्रीसँगको छलफलबारे थप जानकारी गराउँदै अध्यक्ष वैश्यले भने, “विशेष गरी चारवटा विषय ध्यानाकर्षण गराएका छौं ।”
रुपैडिहा रेल्वे लाइनलाई ब्राडगेज लाइन बनाउनुपर्ने, जडिबुटी पीएफए ल्याब रुपैडिहामा स्थापना गर्नुपर्ने र रुपैडिहामै काउन्सिलर अफिसर खटाउनुपर्ने माग भारतीय गृहमन्त्री सिंहसँग गर्दै सो बारेमा उनको ध्यानाकर्षण गराइएको अध्यक्ष वैश्यले जनाए ।
ड्राइ मेडिसनल हर्बल (डीएमएच) भित्र नपरेका जडिबुटीलाई सूचीकृत गरी भारत प्रवेशका लागि सहजता उपलब्ध गराइदिन पनि आग्रह भारतीय मन्त्रीसँग आग्रह गरिएको उनले बताए ।
पछिल्लो समयमा आएर भारतले सूचीकृत गरेका मात्र जडिबुटीको निकासी गर्न दिने जनाई ५४ प्रकारका जडिबुटीको निर्यातमा रोक लगाएपछि सयौं व्यवसायी समस्यामा परेका छन् ।
एक्कासि जडिबुटीको निर्यातमा रोक लगाइदा करिब ४ लाख टन जडिबुटी नेपालका विभिन्न नाकाहरूमा थन्किएकोमा सबैभन्दा बढी नेपालगन्ज नाकामै थन्किएको छ ।
भारतीय गृहमन्त्रीसँगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन र एसोसिएट सदस्य सन्जय जैन पनि सहभागी थिए । सीमानालाई बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला राख्न र आवागमन गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्रीसँग आग्रह गरिएको संघका महासचिव टण्डनले बताए ।
सो बारेमा आफूले तत्काल सुरक्षा अधिकारीहरूलाई निर्देशन दिने आश्वासन पनि मन्त्रीले सो अवसर दिएको उनले जनाए । त्यस्तै, संघका अध्यक्ष वैश्य नेतृत्वको सो टोलीले उत्तरप्रदेश र उत्तराखण्ड भन्सार हेर्ने केलेक्टर अफ कष्टम भीपी शुक्ला, युपिका कष्टम कमिश्नर प्रमोद मिश्रलगायतसँग पनि छुट्टै भेटघाट गरेर समस्याहरू अवगत गराएको संघका महासचिव टण्डनले जानकारी दिएका छन् ।
“सीमा क्षेत्रमा भएका अन्य विभिन्न समस्याहरूबारे पनि जानकारी गराएका छौं,” अध्यक्ष वैश्यले भारतीय भन्सारको उच्च अधिकारीहरू नेपाली सीमासम्म अवलोकनका लागि आएको जानकारी दिँदै भने, “सीमाबाट आवागमन गर्ने व्यावसायिक प्रयोजनलाई सहजीकरण गर्ने प्रतिबद्धता उनीहरूबाट पनि व्यक्त भएको छ ।”