कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
229

लमजुङ-नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले उद्योग व्यापारको प्रवद्र्धन नभएर मुलुक बचाउन कठिन भएको दाबी गरेका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३२ औं साधारणसभा एवं ४३ औं स्थापना दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
पूर्वअध्यक्ष ढकालले अस्थिर राजनीति र द्वन्द्वले खस्किएको उद्योग तथा व्यपारलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उद्योग तथा व्यपारका लागि प्रसस्त सम्भावना भएकाले सरकारसँग साझेदारी गर्न निजी क्षेत्र तयार रहेको बताए ।
“सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा ग्रहण गर्नसक्नुपर्छ,” ढकालले भने, “श्रमका लागि बिदेसिएका हजारौं युवालाई स्वदेशमै रोजगार दिन सक्ने वातावरण हामी बनाउँछौं ।”
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य सघ गण्डकी प्रदेश अध्यक्ष सन्जीव कोइराला, लमजुङ उद्योग वाणिज्य सघंका सस्थापक अध्यक्ष तिलकबहादुर पौडेलले मन्तव्य राखेका थिए ।

लमजुङ उद्योग वाणिज्य संघ ४३ औं वर्षमा
लमजुङ उद्योग वाणिज्य संघले ४३ औं वर्षमा प्रवेश गरेको छ । ०३२ साल पुस २६ गते स्थापना भएको संघले एक समारोह गरी ४३ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तिलकबहादुर पौडेलले व्यवसायीहरुको हक हितका लागि स्थापना भएको संस्था चार दशक पार गर्दा मुलुकको विकास र समृद्धिका लागि सरकारको मुख्य साझेदार भएकोमा गर्व लागेको बताए ।
“देशको विकास निर्माण र सामाजिक सेवामा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण छ,” पौडेलले भने, “एउटा बन्द कोठाबाट सुरु भएको संस्थाले यो उचाइ प्राप्त गरेकोमा गौरव महसुस भएको छ ।”
४३ औं स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ । संघले संस्थाका संस्थापक अध्यक्ष तिलकबहादुर पौडेललगायत स्थानीय तह निर्वाचनमा निर्वाचित पूर्वकार्यसमिति पदाधिकारी एवं सदस्यहरु, पूर्वकर्मचारीहरुलाई सम्मान गरेको हो ।
यसैगरी संघका पूर्वकार्यसमिति सदस्य दिवंगत नन्दमान श्रेष्ठको स्मृतिमा स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार मीना गुरुङलाई सम्मान गरेको छ ।
-सन्देश पौडेल