कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५
809

काठमाडौं-वि.सं. २०१८ सालदेखि निरन्तर रुपमा संचालन हुँदै आएको ऐतिहासिक विराट गोल्ड कपको गत वर्ष २०७४ को कुल आम्दनी १ करोड ४३ लाख भएको छ भने ५ लाख ८८ हजार बचत भएको छ । विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०७४ को अन्तिम पत्रकार सम्मेलन गर्दै आइतबार टुर्नामेन्टका अध्यक्ष नविन रिजालले टुर्नामेन्टले करसहित कुल १ करोड ४३ लाख ३४ हजार ६ रुपैयाँ ९३ पैसाको आम्दानी गरेको जानकारी दिएका हुन् ।
टुर्नामेन्टको आर्थिक कारोवार सञ्चालन हुनुअघि हामीले सम्बन्धित व्यक्तित्वहरूसँग उचित परामर्श लिएका थियौँ, उनले भने, “जसअन्तर्गत आन्तरिक राजस्व कार्यालय, विराटनगरका कर प्रमुखसँग सल्लाह लिँदा टुर्नामेन्टलाई भ्याटमा दर्ता गर्नुपर्ने सल्लाह दिएका थिए ।”

सल्लाह अनुरुप नै विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०७४ लाई भ्याट नम्बर ६०७६३५१९१ अन्तर्गत दर्ता गरेका भन्दै उनले आम्दानी तर्फ टुर्नामेन्टका प्रायोजक र प्रबर्धकहरूबाट कर सहित कुल ५८ लाख १५ हजार ५ सय १ रुपैयाँ (कर बाहेकः ५१,४६,४६१) टुर्नामेन्ट अवधि भर टिकटहरूबाट कुल ५० लाख ३५ हजार ४ सय ६२ रुपैयाँ (करसहित) को आम्दानी भएको तथा विभिन्न संघ–संस्था तथा व्यक्तीहरूबाट कुल ३४ लाख ८३ हजार ४४ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको जनाए ।
त्यस्तै, खर्चतर्फ ग्राउन्ड मेन्टिनेन्स, खेलाडी व्यवस्थापन, मञ्च व्यवस्थापन, टावर निर्माण, यातायात, विज्ञापन, फ्लेक्स, मसलन्द छपाई, अतिथि सत्कार आदि वापत करसहित कुल १ करोड २९ लाख ५ हजार ४ सय २५ रुपैयाँको खर्च भएको रिजालले बताए । साथै, आर्थिक कारोबार गर्दा देखिएको कर दायित्व ८ लाख ४० हजार रुपैयाँ आन्तरिक राजस्व कार्यालय, विराटनगरलाई बुझाई सकिएको पनि उनले जानकारी गराए । यी सबै खर्चहरू र दायित्वहरू भुक्तानी गरिसक्दा टुर्नामेन्टले कुल ५ लाख ८८ हजार ५ सय ८१ रुपैयाँ ४९ पैसाको बचत गरेको छ, उनले भने ।
विराटनगरको गौरव ऐतिहासिक विराट गोल्डकपको गत वर्ष २०७४ सालमा भएको टुर्नामेन्टले मोफसलमै पहिलो पटक डे नाइट शैलीमा फुटबल टुर्नामेन्ट सञ्चालन गर्ने अथक प्रयासले भव्य रुपमा सफलता हासिल गर्दा विराट गोल्डकप फुटबल टुर्नामेन्टको इतिहास पनि रचेको पनि उनले दाबी गरे ।


सातामा धेरै पढिएको