सरस्वती ढकाल
सोमवार, मंसिर १०, २०७५
1040

- ‘जम्प’ गरे बीचैमा दुर्घटनामा पर्नुहोला
व्यवसायीहरूले आफ्ना समस्या सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पु-याउन थालेपछि विभागीय मन्त्री भने रुष्ट भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरूले सम्बन्धित मन्त्रालयलाई बाइकट गरेर सिधै प्रधानमन्त्रीसमक्ष समस्या लिएर जाने व्यवसायीलाई चेतावनी दिएका छन् । मन्त्री यादवले ‘लाइन मिनिस्ट्री’लाई थाहै नदिइ सिधै माथि (प्रधानमन्त्रीसम्म) पुग्ने व्यवसायीलाई विधि कानुन र प्रक्रियामा ध्यान दिन आग्रह गरे । गणतन्त्रमा पनि उद्योगी व्यवसायीहरूले राजा खोज्ने गरेको उनको आरोप थियो । यादवले विधि, कानुन र प्रक्रियालाई ख्याल नगरी एकैपटक अन्तिम विन्दु अर्थात प्रधानमन्त्रीकोमा पुग्दा त्यसले सही नतिजा नदिने र देशको समग्र सुशासन नै ध्वस्त पार्ने बताए । “तपाइँहरू राजाको समयमा हुर्किएकोले अहिले पनि राजा खोज्दै हुनुहुन्छ, राजा हटेको धेरै भयो विधि कानुन र प्रक्रिया मानेर काम गर्नुस्,” मन्त्री यादवले उद्योगी व्यवसायीहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै भने, “म तपाइँहरूलाई सहयोग गर्नकै लागि मन्त्रालयमा छु भने किन ‘जम्प’ गरेर माथि पुग्नुहुन्छ ? तपाइँहरू तेक्वान्दो खेलाडीजस्तो ‘जम्प’ गर्नुहुन्छ यसले बिचैमा लड्नुहुन्छ । अनि कसरी प्राइज पाउनुहुन्छ ?” चौथो उद्योग दिवस समारोहमा व्यवसायीप्रति कठोर देखिएका मन्त्री यादवले मानसिकता परिवर्तन गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालमा उद्यम व्यवसाय फस्टाउनका लागि आफू जस्तोसुकै अवस्था सामना गर्न तयार भएपनि व्यवसायीहरू राजतन्त्रजस्तो शैली अहिले पनि देखाउने गरेको उनको अनुभव छ । “उद्यम व्यवसायको हितका लागि म तपाइँहरूको पछाडि वा अगाडि जता लाग्न पनि तयार छु, तर उद्योगका समस्या प्रधानमन्त्रीबाट समाधान हुन्न त्यसैले विधि र प्रक्रियाको पालना गनुपर्छ,” उनले भने, “उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध हुनुपथ्र्याे तर सरकार र प्रतिपक्षको जस्तो सम्बन्ध छ ।”  नेपालमा उद्योगी मानसिकता छैन भन्दै उनले सहज र छिटो तरिकाले नाफा कमाउन अरु देशले उत्पादन गरेका वस्तु तथा सेवा बेच्ने गरेको बताए । उद्योगहरूको अवस्था के कस्तो छ भन्ने विषयमा हालसम्म सरकारसँग कुनै पनि जानकारी नभएको उनको भनाइ छ । यसका लागि निजी क्षेत्रका संघसंस्थाले समेत सहयोग नगरेको पनि उनले बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीतिगत रूपमै सहजीकरण गर्नुपर्ने बताए । अहिलेका कानुन तथा नीतिले समृद्ध नेपालको सपना देख्न नसकिने भन्दै पुराना व्यवस्थालाई सुधार गर्न आग्रह गरे । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापारघाटा कम गर्न र उत्पादनमूलक उद्योग बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।  उद्योगी व्यवसायीलाई अगुगमन गर्ने निकाय १४ वटा रहेको तर प्रबद्र्धन र सहजीकरण गर्ने निकाय नभएको भन्दै त्यसमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । छलफलमा सहभागीहरूले समयसापेक्ष कानुन परिवर्तन गर्नुपर्ने, बाझिएका कानुनलाई मन्त्रालयकै पहलमा एक बनाउनुपर्ने, लगानीको वातावरण बनाउनुपर्ने विषयमा राय सल्लाहसहित सरकारको ध्यानाकर्षण गराएका थिए । उद्योग दिवसको अवसरका आयोजित कार्यक्रममा उद्योगी व्यवसायी र सरकोकारवाला पक्षसँग छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।