कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६
1603

यात्रामा जोखिम नभए त्यसको मिठास नै हुँदैन जस्तो लाग्छ । यात्रामा मलाई भौतिक वस्तुभन्दा प्राकृतिक कुराले बढी तान्छ ।
मनसुन सुरु भइसकेपनि गत साता ट्रेकिङको योजना बन्यो । गन्तव्य तय भयो– च्छोरोल्पा हिमताल । सहयात्री बने लाक्पा छिरी शेर्पा दाइ र फिन्जु शेर्पा भाइ । माथिल्लो तामाकोशीको किनारैकिनार अनगिन्ती झरना, खहरे खोलाहरु पार गर्दै काठमाडौंबाट हिँडेको ३ दिनमा च्छो रोल्पा हिमताल पुगियो । हिउँदभरि हिउँले सेतै हुने त्यो ठाउँ मनसुनको समयमा रंगीबिरंगी फूलले ढाकिँदो रहेछ । आकाश खुलेको बेला गौरीशंकर हिमाल आँखैअगाडि देखिने ।

बाटोमा चारजनामात्र विदेशी पर्यटक भेटिए । भारी बोक्ने भरिया चौंरीका गोठाला भने प्रशस्त । बाटोमा भेटिने ठूला ठूला फाँटलाई खर्क भनिँदो रहेछ, जहाँ चौंरी चराइन्छ । चौंरी गोठ हेर्ने इच्छा पनि पूरा हुने भयो भनेर खुसी लाग्यो । फर्कने बेला चौंरी गोठ भएर फर्किने सल्लाह भयो ।
दोलखाको रोल्वालिङ ना गाउँबाट बिहान ७ बजे दिनभरी पुग्ने खाजा बोकेर दाल्दुला चौंरी गोठतर्फ हिँड्यौं । बाटोभरी ठूला खर्कहरु अनि खर्कमा जंगली फूल फूलेर बगैंचा जसरी सजिएको । धुपी र सुनपातीको बासना । करिब १२ घण्टा हिँडेपछि बल्ल चौंरीको घाँटीमा बाँधिने घण्टीको आवाज सुनिन थाल्यो । एक–दुई वटा चौंरी देखिए र देखिए दुईवटा छाप्रा पनि । एउटा छाप्रोबाट धुवाँ निस्किँदै थियो भने एउटामा त्रिपाल टाँगिएको थियो ।
रात झमक्क भइसकेको थियो । हामी बास बस्ने ठाउँ खोज्न थाल्यौं । एउटा छाप्रोमा एकजना महिला दूध दुहुँदै हुनुहुन्थ्यो । हामीले बास माग्यौं । उहाँले सुत्न ठाउँ पुग्दैन भन्नुभयो । राति भइसकेको थियो । बिहानदेखि ३ रोटी र तरकारीको भरमा थियौं । खुट्टा थाकिसकेका थिए ।
करिब २० मिनेट हिँडेपछि अर्को गोठ भेटियो । त्यहाँ पनि बास नपाए गाउँ पुग्न ४ घण्टा लाग्ने रहेछ । निकै थाकिसकेकोले चौंरीसँगै आगो बालेर भए पनि रात कटाउन सकिन्छ भन्ने लागिरहेको थियो । भाग्यवश बस पाइने भयो ।
करिब ५५ वर्षकी आमा जाम्बु शेर्पा । उनका ७ बहिनी छोरी २ भाइ छोरा रहेछन् । केही गोठमा, केही गाउँमा । हामी भित्र पस्यौं । छिरिङ शेर्पा ठूलो भाँडोमा चौंरीको दूध उमाल्दै थिइन् । परिवारका अरु सदस्य अगेनो वरिपरि झुम्मिएका तिए । काठको फलेकको छानो । काठले नै बारेको सानो भुपडी । भुइँमा निगालो ओछ्याइएको । बस्नका लागि चौंरीको रौं भएको छालाको चकटीजस्तो सानो टुक्रा ।
मलाई थकाइ भन्दा उनीहरुको जीवनशैली जान्ने उत्सुकता धेरै थियो । झोलामा थन्क्याइसकेको क्यामरा निकालेर फोटो–भिडियो खिच्न थालें । सोचें– यस्तो अनकन्टार जंगलमा चौंरीको साथमा निर्धक्कसँग कसरी बस्न सकेका होलान् ।
हामी आफैंले बाटोमा टिपेर ल्याएको निगालोको टुसा र निगुरोमा आलु मिसाएर पकायौं अनि कीरा र पुतली छल्दै खायौं ।
रातभरी ठूलो पानी प-यो । पानीको छिटा अनुहारमा परिरह्यो । न ओछ्याउने गतिलो न ओढ्ने । सोचें– हामीलाई एक रात बिताउन यति सकस भएको छ, यी गोठालाहरु कसरी जीवन बिताइरहेका होलान् ।
बिहान ब्युँझिँदा जाम्बु आमा आमा चौंरीको दूध दुहेर ल्याउँदै हुनुहुँदो रहेछ ।
२८ वटा चौंरी रहेछन् गोठमा । २२ वटाले दूध दिने रहेछन् । एक जनालाई दूध दुहुन ३ घण्टा लाग्ने रहेछ । गोठका सदस्यहरु कोही दूध पकाउँदै थिए, कोही चौरीलाई नुन चटाउँदै त कोही वनबाट चौंरी खोजेर ल्याउँदै ।
मैले आमालाई सोधें– दुःख लाग्दैन यस्तो गोठमा बस्न ?
“बानी परिसक्यो हामीलाई । चौंरी हाम्रो परिवारको सदस्यजस्तै लाग्छ । ३५ वर्ष भयो यसरी चौंरीसँगै गोठ सार्दै हिँडेको,” उहाँले भन्नुभो । ८ देखि १० ठाउँमा गोठ सार्नुपर्ने रहेछ । वर्षाभरी हिमाली भेगमा अनि हिउँद लागेपछि घरमा । नौ सन्तान जन्माएकी जाम्बुले ४ सन्तान त गोठमै जन्माउनु भएको रहेछ ।
घिउ, छुर्पी, जंगली च्याउ आदि सुकाएर बेच्दा रहेछन् उनीहरु । आम्दानीको मुख्य स्रोत नै चौंरी रहेछ उनीहरुको । घिउ, छुर्पी बजारमा बेचेर खाद्यान्न किनेर ल्याउँदा रहेछन् र गर्जो टार्दा रहेछन् ।

पूर्णिमा श्रेष्ठ


थप सामग्री