कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५
1038

मेक्सले नेपाल पैसा पठाउने भनेर उठाउने तर नपठाउने गरेपछि यो विषय दुवै देशका केन्द्रीय बैंकसम्म पुगेको छ ।

मलेसियन रेमिट कम्पनी मेक्सका कारण करिब ३ अर्ब रुपैयाँ अप्ठ्यारोमा परेको छ । मेक्स रेमिटले कतार र मलेसियामा नेपाल पठाउन उठाएको पैसा नपठाएपछि समस्या बढेर गएको हो ।
नेपाल पठाउन भनेर विदेशमा रहेका नेपाली कामदारको पैसा उठाउने तर नेपाल नपठाउने गर्दा २ अर्ब ९५ करोड रुपैयाँ विदेशमा नै रोकिएको हो । मेक्सले नेपाल पैसा पठाउने भनेर उठाउने तर नपठाउने गरेपछि यो विषय दुवै देशका केन्द्रीय बैंकसम्म पुगेको छ । नेपालमा रेमिट सेवा दिने बैंक तथा रेमिट कम्पनीहरूको २ अर्ब ९५ करोड रुपैयाँ मेक्सले नदिएको एक बैंकरले बताए । “केही वर्षअघि पनि मेक्सले यसरी नै पैसा भुक्तानी नदिएपछि कारोबार गर्न रोकेका थियौं,” ती बैंकरले भने, “तर, पछि आएर नियमित गर्ने सहमति भए पनि पुनः सुरु गर्दा अहिले आएर त्यही समस्या दोहोरियो ।”

विभिन्न बैंकको कतारमा उठाएको करिव २३ मिलियन अर्थात २ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिएको छैन । त्यसैगरी हिमालयन बैंक र आइपेको मलेसियामा उठाएको करिब ४५ करोड रुपैयाँ नेपाल पठाएका छैनन् । मेक्सले कतारमा स्थानीय मुद्र्रामा नेपालीको पैसा संकलन गरेको हो । कतारको रकम भुक्तानी नआउनुको कारण स्थानीय मुद्रा भएकाले पनि समस्या बढेको भनिएको छ ।
यो समस्या बढ्दै गएपछि मलेसिन कम्पनी मेक्स रेमिटका प्रतिनिधि नेपाल राष्ट्र बैंक पुगेर नेपाली पक्षले दाबी गरेअनुसारको रकम भुक्तानी गर्न बाँकी नरहेको दाबीसमेत गरेको छ । नेपाल आएको मेक्स रेमिटका प्रतिनिधिले नियामक निकाय तथा सम्बन्धित कम्पनीहरूसँग समेत छलफल गरेका छन् ।
मलेसियाको पैसाको सन्दर्भमा सम्बन्धित कम्पनीहरूले छलफल गरेर मिलाउने भने पनि कतारमा उठाएको पैसा नेपालमा भुक्तानी नभएको सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई जानकारी छैन । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यदि त्यो रकम फसेको खण्डमा नेपाली सम्बन्धित कम्पनी नै जिम्मेवार हुनुपर्ने छ । “केन्द्रीय बैंकले दुवै पक्षसँग छलफल गरेर समाधान खोज्न पहल गर्ने भए पनि पैसा नआएको खण्डमा कारोबार गर्ने नेपाली कम्पनीकै दायित्वमा पर्छ,” स्रोतले भन्यो ।
मेक्सका प्रतिनिधि नेपाल आएर केन्द्रीय बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा सम्पर्क गरे पनि केन्द्रीय बैंकले हिमालयन बैंकमा अनुगमन गएको थियो । केन्द्रीय बैंकको अनुगमन टोलीले प्रतिवेदन भने तयार नगरिसकेको स्रोतले जानकारी दियो ।