भुवन पौडेल
बिहिवार, श्रावण १०, २०७५
1043

काठमाडौं-आर्थिक वर्ष २०७४/७५ को अन्तिम समयमा सरकारी खर्च वढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य मात्रामा थपिएको छ । बैंकमा थपिएको निक्षेपले ब्याजदरसमेत घट्ने सम्भावना बढेको छ ।
पछिल्लो २ सातामा मात्र वित्तीय प्रणालीमा ९३ अर्ब रूपैयाँभन्दा धेरै पैसा आएको छ । आर्थिक वर्षको अन्तिम समयमा खर्च गर्ने सरकारको प्रवृत्तिले पछिल्लो समयमा बैंकिङ प्रणालीमा पैसा आएको हो । त्यसका साथै बैंकहरूले आर्थिक वर्षको अन्त्यमा कर्जा प्रवाह नगर्ने तर, निक्षेपमा जोड दिने भएकाले पनि निक्षेप बढेको देखिन्छ । पछिल्लो समयमा बैंकहरूमा निक्षेप नआएपछि प्रतिस्पर्धात्मक रूपमा ब्याजदर वढाएर निक्षेप कल गरेका थिए । त्यसरी उच्च दरमा वढेको ब्याजदर पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएको पैसाले केही करेक्सन गर्ने अपेक्षा बैंकहरूको रहेको छ ।

सरकारी खर्च वढ्ने तथा केन्द्रीय बैंकले नगद सञ्चिती अनुपात र वैधानिक तरलता अनुपात घटाएपछि बढेको तरलताले अन्तर बैंकिङ दर घटाएर २ प्रतिशतको हाराहारमिा झरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । बुधबारसम्ममा वित्तीय प्रणालीमा ७७ अर्बको अधिक तरलता रहको ति अधिकारीको भनाइ छ । “पछिल्ला दिनहरूमा अन्तर बैंकदरमा देखिएको कमीले ब्याजदरमा पनि कमी आउने सम्भावना छ,” राष्ट्र बैंक अधिकारीले भने ।
आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरूले कर्जालाई भन्दा पनि निक्षेपलाई जोड दिने गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “कर्जाको माग नबढेको खण्डमा निक्षेप बढ्ने क्रम जारी रह्यो भने ब्याजदर घट्ने सम्भावना छ,” दाहालले भने,“सरकारी खर्चका कारण निक्षेप थपिएको छ, कर्जाको माग कस्तो हुन्छ भन्ने कुराले महत्वपूर्ण भूमिका खोल्छ ।”
गत आर्थिक वर्षको अन्त्यमा बढेको सरकारी खर्च र मौद्रिक नीतिको नयाँ व्यवस्थाले वित्तीय प्रणालीमा तरलता उच्च भएपछि राष्ट्र बैंकले निक्षेप कलेक्सन जारी गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो दिनदेखि बुधबारसम्ममा केन्द्रीय बैंकले ७० अर्ब ८५ करोड रुपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखापरेको अधिक तरलता व्यवस्थापन गर्न साउन एक गतेदेखि ९ गतेसम्म ७ पटक गरेर सो रकम निक्षेप संकलन उपकरणमार्फत खिचेको हो । यो अवधिमा राष्ट्र बैंकले १०५ अर्ब रुपैयाँ बजारबाट उठाउने लक्ष्य राखेको थियो ।
राष्ट्र बैंकले १ सय ५ अर्ब बजारबाट तान्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरूले भने १ सय ५२ अर्ब ५० करोड रुपैयाँको आवेदन परेको थियो । तर, बैंक वित्तीय संस्थाले विड गरेको ब्याजदर नमिलेपछि केन्द्रीय बैंकले ७० अर्ब ८५ करोड मात्र उठाएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सबै बैंक तथा वित्तीय संस्थाको सीआरआर ४ प्रतिशतमात्र कायम गरेकाले पनि तरलता वढेको हो । राष्ट्र बैंकले बिहीबारका लागि पनि थप १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट उठाउने भएको छ ।