कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
740

सिर्जना बैंकिङ कार्यक्रमले काहुँखोला शाखाबाट डिजिटल सेन्टर म्यानेजमेन्ट (डीसीएम) प्रणाली सुरु गरेको छ । पोखराको सिर्जना विकास केन्द्रअन्तर्गत सञ्चालित उक्त सेन्टरले सोमबारदेखि वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त प्रणाली सुरु गरेको केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापाले बताए ।
बैंकिङ कार्यक्रमअन्तर्गत २१ वटा शाखा छन् । बैंकिङ कार्यक्रमका सम्पूर्ण गतिविधि अब डिजिटल बनाइने सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । कास्की, तनहुँ, लमजङु र गोरखामा लघुवित्त सेवा प्रदान गरिरहेको बैंकिङ कार्यक्रमका सदस्य ३१ हजार रहेको केन्द्रले जनाएको छ ।
यसैबीच, सोमबार एक समारोहकाबीच प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका–८ का वडा अध्यक्ष रुद्रनाथ बरालले उक्त प्रणालीको उद्घाटन गर्दै समयअनुसार प्रविधिलाई अपनाउनुपर्नेमा जोड दिए । उक्त सिस्टमको प्रयोगले काम गर्न छिटोछरितो हुनुका साथै वित्तीय कारोबारलाई पेपरलेस बनाउन योगदान पुग्ने उनले जनाए ।