कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५
874

आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रूपमा देशकै दोस्रो ठूलो बैंकका रूपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालू आर्थिक वर्ष ०७५/७६ देखि मेगा बैंकको मुनाफामा निकै वृद्धि हुने उनले बताए । मेगा बैंकले आर्थिक वर्ष ०६९/७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भने, “हामीले भर्खरैमात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौं । मर्जरपछि साधारणसभामार्फत नयाँ सञ्चालक समिति पनि आएको छ । अब मेगा कल्चरअनुसार नै हामी रफ्तार बढाउँछौं । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको मैले पाएको छु ।”
अध्यक्ष शाहले आगामी चार वर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी पनि दिँदै विज्ञहरूसँगको परामर्शमा पाँच वर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका पनि जानकारी गराए । यस्तै, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्रान्डका रूपमा स्थापित भएको बताइन् । वार्षिकोत्सवको अवसरमा सीईओ खुञ्जेलीले तीनवटा आकर्षक कर्जा योजनाहरू पनि सार्वजनिक गरिन् । साना तथा मझौला व्यवसायको प्रबद्र्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेसा व्यवसायमा संलग्नहरूलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेसनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीनवटै कर्जा योजनाहरू ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सीईओ खुञ्जेलीले बताइन् ।