कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५
614

रुकुम-रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि एक सहकारी संस्थामा सेयर लगानी गरिदिएको छ । नगरपालिकाले प्रतिपरिवार ५ हजारका दरले नगरभरका ६ सय ७३ विपन्न परिवारका लागि आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामा सेयर लगानी गरिदिएको हो ।
नगरपालिकाका १४ वटै वडाबाट छनोट गरी विपन्न परिवारका नाममा सेयर लगानी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार सबै वडाबाट प्रति १ हजार जनसंख्या बरावर २० विपन्न परिवार छनोट गरिएको छ । जसअनुसार सबैभन्दा बढी वडा नं ११ बाट ८७ परिवार र सबैभन्दा कम वडा १ बाट २२ परिवारको शेयर नगरपालिकाले हालिदिएको छ । त्यस्तै वडा नम्बर २ मा ३१, वडा नं. ३ मा ४१, वडा नम्बर ४ मा ४४, वडा नं ५ मा ५८, वडा नं. ६ मा ३९, वडा नं ७ मा ३२, वडा नं. ८ मा ३७, वडा नं. ९ मा ६७, वडा नं. १० मा ५७, वडा नं. १२ मा ६२, वडा नं. १३ मा ३७ र वडा नं. १४ मा ५९ घर परिवार विपन्नको सूचीमा परेका छन् ।
विपन्नको सूचीमा परेका सबै ६ सय ७३ जना घरपरिवारको नाममा सहकारीमा सेयर हालिएको हो । सेयर लगानिका लागि नगरपालिकाले ३३ लाख ६५ हजार खर्च गरेको छ ।