कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५
292

गण्डकी प्रदेशको बिकट पहाडी जिल्ला म्याग्दीका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ ।
नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, व्यापार बढ्न र बजारीकरण हुन थालेपछि ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेको प्रभु बैंक बेनी शाखाकी प्रबन्धक लालकुमारी खड्काले बताइन् । नेपाल राष्ट्र बैंकबाट (क) वर्गको अनुमति पाएको प्रभुले गत हप्ता धौलागिरि गाउँपालिका– ७ ताकम र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शाखा विस्तार गरेर सेवा सुरु गरेको छ ।
गाउँमै बैंकको शाखा स्थापना भएपछि उपभोक्ता समिति, शिक्षक, कर्मचारीलाई तलब बुझ्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको र सेवा प्रवाहमा समेत सहजता भएको धौलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले बताइन् । बेनी नगरपालीकासहित ६ वटा स्थानीय तहका केन्द्रहरूमा अन्य बंैकले यस अघिनै शाखा विस्तार गरेका थिए । बेनी र मालीका गाउँपालिकाको केन्द्र दरवाङबाट सेवा दिँदै आएको प्रभुले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र मंगलाको केन्द्र बाबियाचौरमा पनी शाखा विस्तारको तयारी गरेको जनाएको छ ।
भुरुङ तातोपानीबाट सञ्चालन हुदै आएको शाखालाई गत मंसिरमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा स्थानान्तरण गरेको गरिमा विकास बैंकले सदरमुकाम बेनीसँगै मालीका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले द्वन्द्वकालमा दरवाङ बजारबाट विस्थापित भएको शाखा पुर्नस्थापनाको तयारी गरेको छ । बैङ्कीङ पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजी निक्षेपका रूपमा संकलन हुने र उद्यम व्यवसाय गर्नेहरूलाई सहयोग पुग्ने धौलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले स्थानीय तहसम्म बैंकको पहुँच पुगेपछि व्यापारीहरूलाई रकम बोकेर जोखिम मोल्दै हिँड्नुपर्ने समस्या हटेको बताए । आर्थिक कारोबारका साथै व्यापार व्यवसायमा समेत सहयोग पुगेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।