कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
729

बेनीमा रहेको भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय कारोबार सुरु गरेको छ । सफ्टवेयर र मोवाईल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउने, मोवाईल रिजार्च गर्ने, विद्युत्, खानेपानी, टेलिफोनको महसुल भुक्तानी गर्ने, कारोबारको अवस्थाको बारेमा जानकारी लिन सक्ने सेवा सुरु गरेको हो । पायनियर एसोसियट्सको प्राबिधिक सहयोगमा सहकारीले आफ्नै मोबाइल एप तयार पारेको बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए । आन्तरिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, ग्राहकमैत्री र पारदर्शी बनाउन आधुनिक प्रबिधिको प्रयोग गरिएको अध्यक्ष सुवेदीले बताए ।  

एपमार्फत सहकारीका सेयर सदस्यहरुले ई सेवामा आवद्ध विभिन्न बैङ्कका ७४ वटा शाखा र भुतपूर्व भारतीय सैनीकहरुको पेन्सन भुक्तानी सेवाको कारोबार समेत गर्न पाउने व्यवस्था मिलाइएको छ । पायनियर एसोसियट्सका प्राविधिक मनोज श्रेष्ठले सहकारी संस्थाको आर्थिक कारोबारलाई विश्वसनीय बनाउन मोवाईल एप प्रबिधि प्रभावकारी भएको बताए ।

एक हजार जना सेयर सदस्यको १ करोड ४ लाख रुपैया सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । १२ करोड रुपैया लगानी र ११ करोड रुपैया निक्षेप संकलन भएको सचिव गणेश श्रेष्ठले बताए ।