कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
1462

नेपाल राष्ट्र बैंकले मुनाफाका लागि जथाभावी रूपमा कर्जा प्रवाह गर्न व्यवस्थापनलाई दबाब नदिन बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई चेतावनी दिएका छन् ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कतिपय बैंकका सञ्चालकहरूले मुनाफाका लागि व्यवस्थापनलाई दबाब दिएको बारेमा आफू जानकार रहेको भन्दै नसच्चिने सञ्चालकलाई राष्ट्र बैंकले कार्बाही गर्ने चेतावनी दिए । पछिल्लो समय कतिपय वाणिज्य बैंकका सञ्चालकहरूले चुक्ता पुँजी वृद्धिको तुलनामा मुनाफा बढाउनका लागि कमसल धितोमा कर्जा लगानी गर्न दबाब दिएपछि कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरूमा जागिर नै छोड्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

“बैंकिङ क्षेत्र भनेको पब्लिक सेक्टर हो, तपाइँलाई पैसा कमाउनु छ, अर्बपति, खर्बपति बन्नुछ भने बन्नुस् । व्यक्तिगत रूपमा आफ्नो व्यवसाय चलाएर कमाउनुस् । तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई जोखिममा नपुराउनुस्,” उनले भने ।
गभर्नर नेपालले बैंकमा लगानी गरेको नाममा सञ्चालकहरूलाई बचतकर्ताको रकम जथाभावी रूपमा लगानी गर्ने अधिकार नरहेको बताउँदै व्यवस्थापनलाई कमसल धितोमा लगानीका लागि दबाब दिएर कारबाहीबाट बच्न राजनीतिक नेतृत्वमा धाउने सञ्चालकहरूबारे राष्ट्र बैंक जानकार रहेको बताए ।
गभर्नर नेपालले बैंक तथा वित्तीय संस्था नाफा कमाउने भन्दा मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्ने माध्यम भएको भन्दै पुँजी लगानीको तुलनामा मुनाफा चाहिए अन्य व्यापार व्यावसाय सञ्चालन गर्न सञ्चालकहरूलाई सुझाव पनि दिए ।
गभर्नर नेपालले तीन वर्षअघिको ८ अर्ब पुँजी वृद्धि योजनालाई सम्झिँदै भने, “हिजोका दिनमा ८ अर्ब रूपैयाँ पुँजी जुटाउने भन्दा कैयौ बैंक र सञ्चालकहरूलाई पसिना आयो । तर पुग्दो रहेछ त !” यस्तै, उनले पुँजी वृद्धिकै विषयलाई लिएर संसदमा ५० औं पटक बयान दिन उभिनु परेको स्मरण गर्दे आज आएर पुँजी वृद्धिका कारण बैंकहरू क्षमतावान देखिएको बताए ।