कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
1249

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आइतबारबाट मेगा बैंक नेपालसँग गाभिएको छ । आइतबार काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए । यसैगरी, कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटीएमलगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिँदै मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको बताए ।
उनका अनुसार, टुरिज्म डेभलपमेन्ट बैंकको १ कित्ता सेयर हुने सेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता सेयर प्रदान गर्ने गरी सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

मेगा बैंकका शाखा कार्यालयहरू अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ भन्दै बैंकले सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका पनि जनाएको छ ।
मेगा बैंकका सीईओ अनुपमा खुन्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । “सबै स्थानीय तहहरूमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीतिबमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखा खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखा सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरू पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको छ । सबै गरेर बैंकको शाखा सञ्जाल बृहत् भई १०२ कायम हुनेछ,” उनले भनिन् ।
मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदान–प्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ ।