भुवन पौडेल
शुक्रवार, मंसिर ८, २०७४
1592

वाणिज्य बैंकहरूले कर्जा प्रदान गर्दा लिने ब्याज तीन प्रतिशतसम्म घटेको छ । बैंकहरूसँग कर्जा प्रवाह गर्ने रकमको उपलब्धता (तरलता) सहज भएपछि कर्जाको ब्याजदर घटेको हो ।
बैंकहरूले केही समयअघि १४ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरेका थिए । तर, हाल नयाँ कर्जाको ब्याजदर ११ प्रतिशतसम्म झारेको जनाएका छन् । करिब ६० अर्ब रुपैयाँ कर्जा लगानीयोग्य रकम भएको हुनाले पनि कर्जा प्रवाहका लागि केही सहज भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “पछिल्लो समयमा ब्याजदर घटेको छ,” दाहालले भने, “हामीले १४ प्रतिशतमा प्रवाह गर्दै आएको कर्जा अहिले ११ प्रतिशतसम्म झरेको छ ।” बैंकहरूको आधार दर नै दोहोरो अंकमा भएको हुनाले कर्जाको ब्याजदर घटेको नदेखिएको उनले बताए । बैंकहरूको निक्षेपको लागत कम हँुदै गएपछि आधार ब्याजदर घटेको हुनाले ब्याजदर पनि घट्दै आएको उनले बताए ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि वित्तीय प्रणालीमा देखिएको कर्जा लगानीयोग्य रकमको अभावले ब्याजदर वढेको थियो । बैंकहरूले कर्जा प्रवाह गर्नका लागि निक्षेप वढाउनुपर्ने अवस्था आए पनि उच्च ब्याजदरमा निक्षेप लिएको हुनाले कर्जा ब्याजदर पनि उच्च दरमा वढेको थियो । बैंकहरूले १४ प्रतिशतसम्म ब्याजदर तिरको मुद्दती निक्षेप अझै पनि परिपक्व भएर साइकल पूरा नभएको हुनाले आधार ब्याजदर घट्न नसकेको हो । पछिल्लो समयमा सरकारी खर्च बढ्न थाले पनि बैंकहरूमा निक्षेप वढेको हुनाले हाल बैंकहरूको आधार ब्याजदर करिब १० प्रतिशतमा झरेको छ ।
नयाँ कर्जामा २ देखि ३ प्रतिशतसम्म कर्जा घटेको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए । बैंकहरूको आधार ब्याजदर विस्तारै घट्दो क्रममा रहेको हुनाले कर्जाको ब्याजदर पनि घटेको खालिङको भनाइ छ । “हामीले साढे १३ प्रतिशतसम्म लिएको कर्जा अहिले साढे ११ प्रतिशतसम्म झरेको छ,” खालिङले भने, “पछिल्लो समयमा वित्तीय प्रणालीमा वढेको निक्षेपले केही सहज भएको हो ।”
वित्तीय प्रणालीमा कर्जायोग्य रकमको उपलब्धता तथा पुँजी, कर्जा र निक्षेपको अनुपात औसत ७६ प्रतिशत भएपछि कर्जाको ब्याजदर पनि घट्दो क्रममा देखिएको हो । गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेको हुनाले बैंकहरूको निक्षेपसमेत वढेको छ । तर, बैंकहरूले निक्षेप बढेको अनुपातमा कर्जा प्रवाहको अनुपात धेरै छ । वाणिज्य बैंकहरूको पछिल्लो साता अर्थात कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १४ अर्ब रुपैयाँ नै कर्जा प्रवाह गरेका छन् । बैंकहरूको कर्जा प्रवाह र निक्षेपको दर बराबर हुँदा पनि पुँजी कर्जा निक्षेपको अनुपात कायम गर्नुपर्दा कर्जा प्रवाह धेरै भएको खालिङको भनाइ छ । हाल बैंकहरूको औसत पुँजी, कर्जा निक्षेप अनुपात ७६ प्रतिशत रहेको छ । यसवाट बैंकहरूले अझै सहज रूपमा २ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने अवस्था छ । बैंकहरूले ८० प्रतिशत कायम गर्ने पर्ने पुँजी, कर्जा निक्षेप अनुपात ७८ प्रतिशतसम्म पु¥याएको खण्डमा पनि सहज हुन्छ । हालको अवस्थामा २ प्रतिशतसम्म अझै कर्जा दिनसक्ने अवस्था छ । त्यसभन्दा माथि गएको खण्डमा संस्थाले कर्जा प्रवाह गर्न समस्या हुनेछ ।