कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४
1095

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर असोजमा १०.०८ प्रतिशत कायम भएको छ । यो आधार ब्याजदर गत आवको सोही अवधिको तुलनामा करिब ४ प्रतिशतले धेरै हो ।
आर्थिक वर्ष ०७३÷७४ असोजमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.४३ प्रतिशत मात्र थियो । आधार ब्याजदर नघट्नु भनेको तत्काल बैंकको ब्याजदर पनि नघट्ने संकेत हो । त्यसैगरी ०७३ असोजमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१२ प्रतिशत रहेकोमा ०७४ असोजमा १.१८ प्रतिशत कायम भएको छ । टे«जरी बिलको ब्याजदर घटेको भए पनि वाणिज्य बैंकको निक्षेपको लागत बढेको हुनाले ब्याजदर घट्ने अवस्था देखिँदैन । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ असोजको ३.२७ प्रतिशतको तुलनामा ०७४ असोजमा १.१३ प्रतिशत छ ।

चालू आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढी १७६ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले वृद्धि भई २०३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको थियो ।
घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने देखिन्छ । चालू आवको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि निक्षेपको वृद्धिदर समान रहेको थियो ।
०७४ असार मसान्तको १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ असोज मसान्तमा १०९९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७४ असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा ०७४ असोज मसान्तमा २.१ प्रतिशतले वृद्धि भई ९४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति ०७४ असार मसान्तमा १५२ अर्ब २६ करोड रहेकोमा ०७४ असोज मसान्तमा ०.३ प्रतिशतले वृद्धि भई १५२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष ०७४÷७५ को तीन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ११ अर्ब ६३ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २८ अर्ब ८४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा चालू खर्च १२६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८६ अर्ब ७९ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ५९.६ प्रतिशतले बढेर ११ अर्ब ६४ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ७ अर्ब २९ करोड रुपैयाँ भएको थियो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले २०७४ असोज मसान्तसम्ममा सरकारी ढुकुटीमा २४६ अर्ब ४ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा यस्तो कर्जा २०.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत, विकास बैंकहरूको ८.३ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा ०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १८.७ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष ०७४÷७५ को तीन महिनासम्ममा बैंकले ११५ अर्ब ४० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्पmत् ४० अर्ब ६५ करोड तथा रिभर्स रिपोमार्पmत् (टर्नओभरका आधारमा) ७४ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो । त्यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा रिपो बोल–कबोलमार्फत् १० अर्ब १ करोड रुपैयाँ (७ दिने र १४ दिने रिपो बोल–कबोल) र स्थायी तरलता सुबिधामार्फत् ७ अर्ब ७५ करोड गरी कुल १७ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । सरकारले आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरूलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
यो बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपछि ०७४ असोज मसान्तसम्म कुल १५३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११३ वटा संस्थाको इजाजत खारेज भई कुल ४० संस्था कायम भएका छन् ।
०७३ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा २०७४ असोज महिनामा ३.१ प्रतिशत कायम भएको छ । गत वर्षको आधारमूल्य उच्च रहेका कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१ प्रतिशत, तराईमा ३.६ प्रतिशत, पहाडमा ३.० प्रतिशत र काठमाडौं उपत्यकामा २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत, पहाडमा ८.९ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत थियो ।