कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
585

बैंकहरूले सोमबारदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति अन्त्य गरेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि बैंकरहरूले संस्थाअनुसारको ब्याजदर निर्धारण गर्ने गरी सहमति तोडेका हुन् । बैंकर्स संघको सोमबार बसेको बैठकले अहिलेको अवस्थामा ब्याजदरको भद्र सहमति कायम राख्न नहुने भन्दै करिब दुई वर्षपछि बैंकहरू आफैंले निक्षेपको ब्याजदर तोक्नसक्ने निर्णय गरेका हुन् । बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्तालाई मूल्यवृद्धिभन्दा कम प्रतिफल हुनेगरी ब्याजदर नघटाउने गरी बैंकहरूलाई नै छाडेको संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । “एकैपटक धेरै भन्दा पनि मूल्यवृद्धिलाई ध्यान दिएर ०.५ देखि एक प्रतिशतले क्रमशः घटाउन अनुरोध गरेका छौं,” दाहालले भने, “वित्तीय प्रणालीमा उल्लेख्य तरलता रहेको हुनाले निक्षेपको ब्याजदरको भद्र सहमति आगामी दिनमा कायम नगर्ने अनौपचारिक सहमति भएको हो ।” बैंकहरूले साउन १ गतेबाट आफ्नो अनुकूलतामा ब्याज दर निर्धारण गर्नेछन् ।