कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
528

लमजुङ- हिमाली जिल्ला मनाङको अति दुर्गम नारफू गाउँमा नेपाल बैकले सेवा प्रवाह सुरु गरेको छ । जिल्लामै सबैभन्दा पहिलो वित्तीय कारोबार गर्दै आएको नेपाल बैंकले नारपाभूमि गाउँपालिका अन्तर्गतको च्याँखु गाउँमा नारफु शाखा स्थापना गरेको हो ।
भौगोलिक रूपमा अति दुर्गम जिल्लामा रहेर पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको शाखाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जिल्लाकै अति दुर्गम गाउँमा सेवा विस्तार गरेको हो । एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामा र नेपाल बैंक गण्डकी प्रदेश प्रमुख विनय केसरी पौड्यालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

करिब ६ सयको हाराहारीमा सेवाग्राही रहेका नारफूमा हालका लागि गाउँपालिकाकै भवनबाट सेवा प्रवाह गरेको शाखाले जनाएको छ । शाखामा तिन सुरक्षाकर्मी, एक कार्यालय सहयोगसहित पाँचजना कर्मचारीले सेवा प्रवाह दिन थालेका छन् ।
एउटा पनि वित्तीय संस्था नरहेको नार्फाभूमि गाउँपालिकामा नेपाल बैंक पुगेसँगै सरकारी काम कारबाहीका लागि सहज हुने भएको छ । सरकारी कामकाजसँगै स्थानीय सर्वसाधारणले पनि गाउँमै वित्तीय कारोबार गर्न पाउने भएपछि खुसी व्यक्त गरेका छन् ।
यसअघि नेपाल बैकले हाल सदरमुकाम चामेमा रहेर जिल्लाका प्राय सबै सरकारी तथा गैरसरकारी कार्यालय र अन्य सर्वसाधरणहरूलाई वित्तीय सेवा दिँदै आएको छ । निजी वित्तीय संस्थाहरूको बढ्दो प्रतिस्पर्धाका बाबजुत पनि नेपाल बैंकले मनाङका अति दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज तरिकाले सेवा दिँदै आएको चामे शाखा प्रवन्धक विज्ञान पौडेलले बताए ।
जिल्लाकै पुरानो शाखा भएपनि सहज र सरल सेवा प्रवाहले गर्दा सेवाग्राहिको आकर्षण बढ्दै गएको र शाखाले नेपाल बैकको गिर्दौ साख जोगाएको वित्तीय संस्थाका सरोकारवालाहरूको बुझाइ छ । सरकारी तथा गैरसरकारी संस्थासहित मनाङ शाखामा मात्रै चारहजार सात सयभन्दा बढी सेवाग्राहीहरूले सेवा लिँदै आएका छन् । नेपाल बैंकले सेवाग्राहीलाई थप सहज बनाउन र सेवाग्राहीको मागबमोजिम मनाङको ङिस्याँङमा पनि सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।
मनाङको सदरमुकाम चामेमा हाल नेपाल बैंकसहित कृषि विकास बैंक र मनाङको ङिस्याङ गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकले सेवा दिँदै आएका छन् । सो बाहेक जिल्लामा अन्य ६ वटा निजी वित्तीय संस्थाहरूले पनि कारोबार गर्दै आएका छन् । अन्य जिल्लामा निजी बैंकहरूप्रति सेवाग्राहीहरूको आकर्षण बढ्दै गए पनि मनाङमा भने सेवाग्राहीहरूको आकर्षण नेपाल बैंकमा बढ्दो पाइएको छ ।