कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
577

लमजुङ-राष्ट्रिय बाणिज्य बैंक बेंसीसहर शाखाले जिल्लास्थित सशस्त्र प्रहरीलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमण जोखिमका बेला सशस्त्र प्रहरी गुल्म लमजुङमार्फत जिल्लाका सशस्त्र प्रहरीहरूलाई सुरक्षा सामग्री प्रदान गरेको हो । शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गतको शीर्षकमा प्रहरीहरूका लागि ३ सय थान मेडिकल मास्क, पाँच लिटर सेनिटाइजर सहयोग गरेको शाखा प्रवन्धक सोमनाथ पौडेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सशस्त्र प्रहरीहरूको सुरक्षाका लागि उक्त सामग्री सहयोग गरिएको शाखा प्रवन्धक पौडेलको भनाइ छ । शाखाले सशस्त्र प्रहरीसँगै जिल्लास्थित सामुदायिक रेडियो मस्र्याङ्दीलाई पनि मास्क र सेनिटाइजर सहयोग गरेको छ । सामुदायिक रेडियोमा कार्यरत सञ्चारकर्मीहरूका लागि १० थान एन–९५ मास्क र साढे दुई लिटर सेनिटाइजर सहयोग गरको बैंक शाखाले जनाएको छ । शाखाले करिब १५ हजार रुपैयाँबराबरको सामग्री सहयोग गरेको हो । यसअघि पनि शाखाले जिल्ला प्रहरी कार्यालयमार्फत जिल्लाका सुरक्षाकर्मीहरूलाई ४० हजारबराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाले जनाएको छ ।