कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
497

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृतिसँगै प्राप्ति गरी शनिबारबाट एकीकृत कारोबार सुरु गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे ।

२०७७ असार १९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । धनुषा, महोत्तरी मा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ ।
कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने भन्दै मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकान्त झाले सहयोगी विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ झन् सुरक्षित र उज्वल हुने बताए ।