कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
358

कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक रु. एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ । नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान शुरु गरेको हो । यसरी खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाहविरुद्ध भएको कानूनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारीसमेत दिने गरेको छ ।
गत वैशाख ११ गते टीकापुर अस्पतालमा टीकापुर–३ की झरना विककी छोरी जन्मिइन् । छोरी जन्मिएपछि अस्पतालका स्वास्थ्यकर्मीले नगरपालिकामा जन्मदर्ता गरेमा बैंक खाता खोलिने जानकारी दिइन् । “मलाई थाहै थिएन, छोरीको न्वारनपछि नगरपालिका गयौँ, त्यही दिन जन्मदर्ता गरियो, सिफारिस लिएर बैंक गएपछि खाता खोलियो,” झरनाले भनिन्, “छोरी जन्मनेबित्तिकै छोरीको बैंक खाता, म त निकै खुशी भएँ । हाम्रा पालामा त छोरी जन्मे आमालाई समेत हेला गर्थे, अहिले त सरकार नै रकम दिन्छ ।” टीकापुर अस्पतालको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन् ।