कारोबार संवाददाता
आइतवार, असार १४, २०७७
661

बाँके- सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले बताए । २५ लाखभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा एक करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।