कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७
769

पोखरा -कोरोना भाइरसको कारण देशमा लकडाउन जारी रहे पनि असार १ देखि बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपमा सञ्चालनमा आएसँगै पोखरा क्षेत्रमा कर्जा रकम तिर्ने र कर्जा निकाल्ने बराबरी देखिएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको असार १ देखि असार ८ गतेसम्मको तथ्यांक हेर्दा कर्जा तिर्ने तथा कर्जा लिने रकम ५२-५२ करोड अर्थात बराबरी रहेको छ ।
लकडाउनको अवधिमा २९ देखि ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्था खुल्ला भएको अवस्थामा डिपोजिट गर्ने र बैंक तथा वित्तीय संस्थाबाट कर्जा (रकम) लैजाने दर धेरै फरक भएपनि लकडाउन खुकुलो हुँदा  बैंकहरु पूर्णरुपमा सञ्चालनमा आउँदा भने लगभग बराबरी जस्तै देखिएको राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोख्रेलले बताए । उनका अनुसार असारको ८ दिनको अन्तरालमा २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक पोखराबाट रकम लगेका छन् भने ५२ करोड रुपैयाँ डिपोजिट भएको छ ।

लकडाउन खुकुलो भएसँगै कार्यालयमा २ करोड ८२ लाख रुपैयाँ वैदेशिक मुद्रा जम्मा भएको छ । लकडाउनको अवधि चैत ११ देखि जेठ मसान्तरसम्म ७ करोड रुपैयाँ विदेशी मुद्रा डिपोजिट भएको निर्देशक डा.पोख्रेलले बताए । उनका अनुसार लकडाउनको अवधि चैत ११ देखि जेठ मसान्तरसम्ममा राष्ट्र बैंक कार्यालय पोखराबाट विभिन्न बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २२ करोड रुपैयाँ निकालेका छन् । उक्त अवधिमा राष्ट्र बैंक पोखरामा भने ८४ करोड २२ लाख रुपैयाँ मात्र डिपोजिट भएको उनले जनाए ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो भल्टमा राख्ने सिमित रकम भन्दा बढी भएको खण्डमा मात्र डिपोजिट गर्ने गरेको उनले जनाए । लकडाउनमा धेरै लआम उपभोक्ताले रकम आफ्नो साथमा राखेकाले डिपोजिट घट्न गएको निर्देशक डा.पोख्रेलको तर्क छ ।
कोरोनाको महामारीका कारण हाल कर्जा लगानी खासै नभएको निर्देशक डा.पोख्रेलले बताए । हाल लकडाउन धेरै खुकुलो भई बजारमा केही सहजता भएसँगै बैंकिङ कारोबार समेत बढ्न गएको उनले बताए । उनका अनुसार गण्डकी प्रदेशमा प्रति बैंक शाखा २ हजार २ सय ५७ जना सेवा लिन सक्ने अवस्था रहेको छ । यसमा नेपालको समग्र तथ्यांक हेर्दा प्रतिशाखा करिब ३ हजार रहेको छ । पोखरा क्षेत्रका पर्यटन, अटो, यातायात लगायतका व्यावसयीले सहुलियत दरमा कर्जा माग गरेको निर्देशक डा.पोख्रेलले बताए । नेपाल राष्ट्र बैंकले हाल नयाँ मौद्रिक नीतिमा ववेसाइतमार्फत सुझाव मागेको छ ।